एजेन्सी । हिन्दू धर्ममा गाईको पवित्र स्थान छ । गाईलाई लक्ष्मीको स्वरुप मानेर पुजा समेत गरिन्छ । हिन्दु परिवारमा घरमा गाई हुनु शुभ पनि मानिन्छ । अन्य बिश्वका धेरै स्थानमा कतिपय मानिस जनावरसँग खेल्न वा समय बिताउन रुचाउँछन् । त्यसो त विज्ञानले पनि यसलाई उपयोगी मानेको छ । जनावरसँग समय बिताउँदा मानिसको दिमाग झन् तेजिलो हुने वैज्ञानिकले प्रमाणित गरिसकेका छन् ।
यही कुरामा मिल्ने गरी अमेरिकामा अहिले एक अभियानै चलेको छ । जुन सुन्दा निकै रोचक लाग्न सक्छ । अमेरिकामा अहिले ‘गाईलाई अंकमाल गरौं’ भन्ने अभियान चलाइँदैछ । यो अभियानमा सामेल हुनेको संख्या अहिले बढ्दो रूपमा छ । यस्तो अभियान न्युयोर्कको माउन्टेन हाउस फार्मले चलाइरहेको छ । तर, गाईसँग अंकमाल गर्न त्यसै पाइँदैन । त्यसका लागि पैसा खर्च गर्नुपर्छ ।
निकै मोटो रकम खर्चेर मानिस अहिले गाईसँग अंकमाल गरिरहेका छन् । खबरअनुसार यो अभियानमा सामेल भएर गाईलाई अंकमाल गर्नेले ९० मिनेट समय बिताउन पाउँछन् । त्यसका लागि उनीहरूले ३ सय डलर (झण्डै ३५ हजार नेपाली रुपैयाँ) तिर्नुपर्छ । आखिर मानिसले यति धेरै पैसा खर्चेर किन गाईसँग अंकमाल गरेका त ? यो बताइएको छ कि, मानिसले ‘रिल्याक्स’ हुनका लागि यस्तो गरेका छन् ।
उनीहरूले गाईको हेरचाह र सुरक्षामा मानिसको ध्यान जाओस् भनेर पनि यसो गरेको बताइएको छ । धेरैलाई थाहा नहुन सक्छ कि, गाईसँगको अंकमालबाट मानिसको स्वास्थ्यलाई फाइदा पुग्छ भन्ने कुरा वैज्ञानिकले पनि प्रमाणित गरिसकेका छन् । वैज्ञानिकका अनुसार मानिसको शरीरको तापक्रमभन्दा गाईको तापक्रम निकै बढी हुन्छ । त्यसैगरी, मानिसको मुटुको धड्कन जति तीब्र हुन्छ, त्यो भन्दा निकै बढी गाईको मुटुको धड्कन तीब्र हुन्छ ।






