काठमाण्डौ । नेपाली युवाहरुको डिजाइनमा तयार भएको ‘यात्री’ नामक विद्युतीय मोटरसाइकल कम्पनिले बिक्रीको लागि लन्च गरेको छ । ४ जना इन्जिनियर सहितको ७ जनाको टोलीले ‘यात्री’ डिजाइन स्टुडियोको स्थापना गरेर मोटरसाइकलको पहिलो परियोजना प्रोजेक्ट जिरोलाई् सार्वजनिक गरेको हो ।
यसका सम्पुर्ण स्पेयर पार्ट्स नेपालमै डिजाइन गरेर अमेरिका, चाइना, भारत र युरोपेली मुलुकका विभिन्न कम्पनीसँग सहकार्य गरी निर्माण गरिएको कम्पनीका संस्थापक अशिम पाण्डेले जानकारी दिए । ‘हामीले सबै काम आफै गर्यौँ, कतिपय पार्ट्स बनाउन नेपालमै करोडौ लाग्ने प्लान्ट बनाउनु पर्ने भएकोले नेपालमा डिजाइन गरेर विदेशबाट बनाएर ल्यायौँ’ उनले भने ।
साठीको दशकको क्याफे रेसर डिजाइनबाट प्रभावित यस मोटरसाइकल सहरी क्षेत्र र मोर्डन कनेक्टिभिटीको लागि तयार पारिएको पाण्डेको भनाइ छ । ३० किलोवाट ब्याट्री क्षमताको यस मोटरसाइकल सिङ्गल चार्जमा २ सय ३० किलोमिटर कुद्ने कम्पनीको दावी छ । बाइकमा ४० हर्सपावरको शक्ति छ । बाइक निर्माणका लागि कम्पनीले २०१७ देखि रिसर्चको काम सुरु गरिसकेको थियो भने २०१८मा नेपालको विभिन्न ठाउँ गएर सवारीसाधन र सडकको बारेमा अध्ययन गरेको थियो ।
यात्रा गर्दा हुने प्रमुख समस्या पहिचान गरेर त्यही अनुसार मोटरसाइकल निर्माण गरिएको पाण्डेले जानकारी दिए । यसमा अरु मोटरसाइकलजस्तो मेटल नभई कार्वन फाइवर प्रयोग गरिएकोले आकर्षक हलुका र सुरक्षित रहेको कम्पनीको दाबी छ । यात्री डिजाइन स्टुडियोले पहिलो चरणमा ५० ओटा मोटरसाइकल उत्पादन गर्नेछ । कम्पनीले यसको मूल्य भने सार्वजनिक गरेको छैन ।
‘हाम्रो डिजाइन विदेशबाट बनाएर ल्याउँदा पनि भन्सार शुल्क लगायतमा खासै सहुलियत रहेनछ। यो नीतिगत समस्या सुल्झिएपछि हामी सकेसम्म थोरै मूल्यमा मोटरसाइकल उपलब्ध गराउछौ,’उनले भने । सौरभ ज्योति बने नेपाली इलेक्ट्रिक बाइकको पहिलो ग्राहक ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले नेपालमै बनेको पहिलो इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’ बुकिङ गरेका छन् ।
बिहीबार यात्री मोटरसाइकल सार्वजनिक कार्यक्रममा पुगेका ज्योतिले मोटरसाइकलको पहिलो उत्पादन खरिद गर्ने घोषणा गरेका हुन् । मोटरसाइकलको मूल्य कम्पनीले सार्वजनिक गरेको छैन । ‘नेपाली युवाहरू प्रविधिमा अगाडि बढ्नु ठूलो कुरा हो, त्यसकारण मूल्य थाहा नभएपनि खरिद गरेको हुँ ।’ ज्योतीले भने ज्योतिको बुकिङले आफूहरूको हौसला झनै बढेको कम्पनीका संस्थापक अशिम पाण्डेले बताए ।
यसरी नेपालमै बनेको उक्त मोटरसाईकलमा लाईट अफ द नेपाल नामले चिनिएका कुलमान घिसिङ चढेका छन् । उनी चढेको उक्त फोटो सामाजिक सजालमा निकै नै भाईरल बनेको छ । सेतो र कालो रंगले बनेको उक्त ‘यात्री’ नामक विद्युतीय मोटरसाइकलमा कुलमान घिसिङ चढेको देखाईएको छ । उनले मोटरसाईकलमा बसेर हेलमेट लगाउँदै गरेको तस्वीर सामाजिक सजालैभरी फैलिएको छ ।






