एजेन्सी । कुनै कुनै केसहरु लामो समयदेखि सुल्झिन नसकेर तिनका फाईलहरु बन्द भई बसेका हुन्छन् । जुन विषयमा निर्णय होला की नहोला भनेर जनता र सम्बन्धित निकाय नै अन्यौलमा परी रहन्छन् । यस्ता केसहरु सामान्य हुँदैनन् । तर असामान्य पनि भनिंदैन । यस्ता केसहरुलाई सुल्झाउन निकै लामो समय लाग्ने गर्दछ । सम्भवतः यस्ता केसहरुका फाईल नखुले र नै बन्द भई रहन्छन् । तर इटलीमा भने यस्तो भएन ।
इटलीमा एउटा यस्तो केस छ जुन केसलाई सुल्झाउन १० वर्ष लाग्यो । तर त्याहाँको दुई प्रहरी अधिकारीहरुले झुक्किएर त्यो केसलाई सुल्झाइदिएका छन् । जुन केस त्यहाँको जाँच एजेन्सीले विगत १० वर्षदेखि सुल्झाउन सकेको थिएन । रोमन शताब्दीको भिला मारिनी डेट्टिना पार्कबाट करिब १० वर्ष पहिले इशापूर्व पहिलो शताब्दीको एउटा संगमरमरको मूर्ति चोरी भएको थियो ।
तोगाटस नामको यो मूर्ति २०११ देखि हराइरहेको थियो । इटलीको जाँच एजेन्सीले त्यतिबेलादेखि यो मूर्ति खोजिरहेको थियो तर भेट्न सकेको थिएन । बीबीसीमा प्रकाशित समाचार अनुसार चोरी भएको करिब १ दशकपछि ड्युटीमा नभएका दुई अधिकारीहरुले यो मूर्ति फेला पारेका छन् । उनीहरुले यो मूर्ति बेल्जियमको एक पुरातात्विक पसलमा फेला पारेसँगै १० वर्षदेखि जेलिएको केस सुल्झिएको छ ।
इटलीको हेरिटेज क्याराबेनियरियर युनिटका अनुसार रोमन शताब्दीको भिला मारिनी डेट्टिना पार्कबाट लगभग १० वर्ष पहिले इशापूर्व पहिलो शताब्दीको टाउको नभएको संगमरमरको मूर्ति अज्ञात चोरहरुले चोरेका थिए । दुई अफ ड्युटी पुलिस अधिकारी बेल्जियमबो पुरातात्विक पसलमा जाँदा त्यहाँ त्यो मूर्ति फेला पारे । त्यो पसलमा चोरी गरिएको मूर्तिलाई कपडाले ढाकेर राखिएको थियो । इटली फर्किएपछि ती अधिकारीहरुले उत्तर मूर्तिसँग सम्बन्धित दस्तावेज र अन्य प्रमाणहरु जुटाए ।
अधिकारीका अनुसार यो मूर्तिको मूल्य अहिले १ लाख युरो पुगिसकेको छ । अहिले यो मूर्ति नियन्त्रणमा लिएर इटली फर्काइएको छ । बेल्जियमका अधिकारीको सहयोगमा इटलियन व्यापारीको नेतृत्वमा सांस्कृतिक वस्तुको अवैध तस्करीको खुलासा पनि भएको छ । यी व्यापारीले फर्जी स्पेनिस नाम प्रयोग गर्छन् ।






