एजेन्सी । माया त माया नै हो । मायाको अगाडी न अभिभावक न त कुनै छेकबार नै । जब मन मनको साईनो कसैसंग गाँसिन्छ भने त्याहाँ कुनै कुुराले छेकबार लगाउन सक्दैन । र जुन मायामा छेकबार लगाईन्छ त्यो माया झनै झाँगिएर जान्छ । बलीउड अभिनेत्री श्रद्धा कपुर र नेपाली मूलका सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठबीचको माया पनि झाँगिएको छ । श्रद्धालाई रोहनसंग सम्बन्ध नराख्न उनका बाबु शक्ति कपुरले भनेतापनि श्रद्धाले आफ्नै बाबुको कुरालाई सुनिनन् र रोहनको मायालाई नै प्राथमिकतामा राखिन् ।
अन्ततः फोटोग्राफर रोहन श्रेष्ठ र अभिनेत्री श्रद्धा कपुरको अफेयरको चर्चा चल्न शुरु गर्यो । शुरुशुरुमा उनीहरुले आफ्नो सम्बन्धलाई निकै कडा तरिकाले लुकाउने गर्दथे भने पछिल्ला केही समयदेखि यी दुईलाई सँगै देखिन थालिएको छ । केही दिन अघि रोहन श्रद्धाको ३४ औं जन्मदिनमा उपस्थित भएका थिए भने शनिबार श्रद्धा रोहनको जन्मदिनमा पुगेकी थिइन् ।
मुम्बईको वर्लीस्थित बास्टियन रेष्टुरेन्टमा रोहन श्रेष्ठ र श्रद्धा कपुरले सँगै डिनर गरे । यो बर्थडे सेलिब्रेशनमा नायक रणवीर सिंह पनि पुगेका थिए । यी तीनजना रेष्टुरेन्टबाट निस्किरहेको भिडियो सार्वजनिक भएको छ । स्मरण रहोस्, हालै श्रद्धा कपुरले आफ्नो जन्मदिन कथित प्रेमी रोहन श्रेष्ठ र परिवारसँग मनाएकी थिइन् । श्रद्धाको जन्मदिनको पार्टीका थुप्रै फोटो र भिडियो सार्वजनिक भएको थियो जसमा श्रद्धा रोहनसँग नाच्दै केक काटिरहेको देखिएकी थिइन् ।
यसबाहेक सोसल मिडियामा भाइरस तस्बिर र भिडियोमा श्रद्धा र रोहनलाई रोमान्टिक भएको पनि देखिएको थियो । श्रद्धा कपुर पछिल्लो केही समयदेखि आफ्नो नीजि जीवनबारे चर्चामा छाउने गरेकी छिन् । रोहन श्रेष्ठसँग उनको विवाहको खबर पनि बारम्बार आइरहन्छ । यद्यपि, यी दुईले यसबारे अहिलेसम्म यसबारे मुख खोलेका छैनन् ।






