काठमाडौ । कैलालीको धनगढीमा उद्घाटन नहुँदै एक फर्निचर उद्योग क्षणभरमै खरानी बनेको छ । ठूलो नोक्सानी भोग्नुपरेपछि ब्यवसायी विक्षिप्त बनेका छन् । सबै काम सकेर उद्घाटनको तयारीमा रहेको सो आलोक मल्टी कन्सर्न प्रालि क्षणभरमा खरानी भएको हो । पाहुना बोलाएर उद्घाटन गर्ने तयारी गर्दै गर्दा शनिबार दिउँसो करिब १२ बजे अचानक आगलागी भएको छ ।
भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याउन लागेको शो रुमसहितको सो उद्योगमा आगलागी भएको उद्योगका सञ्चालकका आफन्त विमल बोहराले बताए । उनका अनुसार सो उद्योगलाई फागुन महिनाभित्रै उद्घाटनको तयारी थालिएको थियो । तर तयारीकै क्रममा भएको आगलागीले पुरै खरानी भएको छ ।

हालसम्म ३ करोड लगानी भइसकेको उद्योगमा उद्घाटनसम्ममा ५ करोड लगानी थपिसक्ने अनुमान सञ्चालकहरुको थियो । उद्योग सञ्चालकले सुदूरपश्चिमका ९ जिल्लामा आफ्नो उत्पादन आपुर्ति गर्ने गृहकार्य थालेका थिए । सो उद्योगको अगाडिको भागमा शो रुम र पछाडिको भागमा उद्योग बनाइएको थियो । जहाँ हालसम्म २२ जना कामदार कार्यरत थिए ।
उद्योग भएको स्थानमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बोहरा बताउँछन् । आगलागी झण्डै २ घण्टापछि नियन्त्रणमा आएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । तस्बिरहरु दीपक नेपालको फेसबुकबाट






