बाँके, ११ वैशाखः दैलेख जिल्लामा आयोजना हुन गइरहेको दैलेख पञ्चकोशी धार्मिक पर्यटन मेला २०८३ लाई लक्षित गर्दै बाँकेका साइक्लिस्टहरू आज दैलेखतर्फ प्रस्थान गरेका छन् । दैलेखको पञ्चकोशी ज्वालामुखी धामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धार्मिक पर्यटनसँग जोड्दै जिल्लालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले वैशाख १३ गतेदेखि १९ गतेसम्म सञ्चालन हुन लागेको उक्त मेलालाई सफल बनाउन उनीहरू सक्रिय रूपमा अभियानमा जुटेका हुन् ।
यस अभियानअन्तर्गत बाँके, नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा विशेष पूजाआजा तथा दर्शन गरी साइक्लिस्ट टोली दैलेखतर्फ प्रस्थान गरेका हुन् । धार्मिक आस्था र पर्यटन प्रवर्द्धनलाई एकसाथ अघि बढाउने लक्ष्यसहित गरिएको यो यात्रा स्थानीयस्तरमा मात्र नभई समग्र प्रदेशकै लागि उदाहरणीय पहलका रूपमा हेरिएको छ ।
यसैबीच बाँके साइक्लिस्ट क्लबका अध्यक्ष कवीराम बुढाथोकीले भन्नुभयो, “दैलेखमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने उद्देश्यले हामी नेपालगञ्जदेखि दैलेखसम्मको यात्रा साइक्लबाट नै गर्दैछौँ । हाम्रो क्लबमा आबद्ध सम्पूर्ण साइक्लिस्टहरूले बाँके लगायत आसपासका अधिकांश धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार साइक्ल यात्रामार्फत गर्दै आएका छौँ, त्यसैले दैलेखको पञ्चकोशी ज्वालामुखी धामलाई पनि व्यापक रूपमा चिनाउन यो अभियान महत्वपूर्ण हुनेछ ।”
उहाँले साइक्लिङमार्फत वातावरण संरक्षण, स्वस्थ जीवनशैली र दिगो पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । साथै, यस्तो अभियानले स्थानीय संस्कृति, परम्परा र धार्मिक महत्व बोकेका स्थलहरूलाई उजागर गर्न थप टेवा पुग्ने बताउनुभयो । उक्त धार्मिक पर्यटन मेलाले दैलेख जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ । मेलामा देशभरबाट श्रद्धालु तथा पर्यटकहरूको उल्लेखनीय सहभागिता रहने विश्वास गरिएको आयोजकले जनाएका छन् ।
सोही क्रममा दैलेख प्रस्थान गर्न लागेका साइक्लिस्टहरूलाई दैलेख समाज बाँकेका अध्यक्ष पूर्णदेव गिरीले यात्राको शुभकामना दिनुभएको छ । साथै उहाँले दैलेख जिल्ला धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण जिल्ला भएको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, “दैलेख धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण जिल्ला हो । यस्तो अभियानले दैलेखको पञ्चकोशी ज्वालामुखी धामजस्ता धार्मिक स्थलहरूको पहिचान अझै व्यापक बनाउनेछ ।” साइकल मार्फत गरिएको यो यात्रा वातावरणमैत्री मात्र नभएर युवापुस्तालाई पर्यटन प्रवर्द्धनमा जोड्ने प्रेरणादायी कदम भएको अध्यक्ष गिरीले बताउनुभयो ।






