सुर्खेत, २२ चैत । आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख चक्रप्रसाद ढुंगानाले कर्णाली प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा सुर्खेतमा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ गतिविधिले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँका अनुसार प्याराग्लाइडिङले प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको छ ।
सुर्खेतको पर्यटकीय क्षेत्रमा स्वयं प्याराग्लाइडिङको अनुभव लिँदै प्रमुख ढुंगानाले पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङले यस क्षेत्रलाई चिनाउन थप मद्दत गरेको र आर्थिक रूपमा पनि यसले सहयोग पुर्याएको बताउनुभयो ।
उहाँका अनुसार प्याराग्लाइडिङ केवल मनोरञ्जनमा सीमित नरही राजस्व संकलनको महत्वपूर्ण आधार बनेको छ । सुर्खेतमा सञ्चालनमा रहेका कम्पनीहरू विधिवत दर्ता भई नियमित रूपमा कर तिर्दै आएको उल्लेख गर्दै उहाँले यसबाट सरकारी राजस्वमा समेत उल्लेखनीय योगदान पुगेको जानकारी दिनुभयो ।
“प्याराग्लाइडिङसँग सम्बन्धित अन्य क्षेत्रहरू पनि सँगसँगै विस्तार भइरहेको देखिन्छ ।” उहाँले भन्नुभयो, “पर्यटकलाई उडानस्थलसम्म पुर्याउने यातायात सेवा, पाइलट तथा सहायक कर्मचारीका लागि रोजगारी सिर्जना, होटल तथा रेष्टुरेन्ट व्यवसायमा वृद्धि जस्ता गतिविधिहरूले स्थानीय अर्थतन्त्रलाई थप मजबुत बनाइरहेका छन् ।”
राजस्व प्रमुख ढुंगानाले भविष्यमा कर्णाली प्रदेशलाई पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न प्याराग्लाइडिङ एक महत्वपूर्ण आधार बन्न सक्ने बताउनुभयो । सुर्खेतको भौगोलिक बनावट, उपत्यकाको आकर्षक दृश्य र अनुकूल वातावरणका कारण यो क्षेत्र साहसिक पर्यटनका लागि उपयुक्त रहेको उहाँको भनाइ छ ।
उहाँले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा छिमेकी मुलुक भारतबाट समेत पर्यटकको आगमन बढ्दै गएको उल्लेख गर्नुभयो । ढुंगानाले सुर्खेतमा आफूले पाँचौँ पटक प्याराग्लाइडिङ गरेको जानकारी दिँदै यसअघिका अनुभवहरूसँग तुलना गर्दा यहाँको उडान अझ रोमाञ्चक र उत्कृष्ट लागेको बताउनुभयो । “मैले यो भन्दा पहिला पोखरामा पटक पटक प्याराग्लाइडिङ गरिसकेको छु । तर सुर्खेतको अनुभव अझ प्रभावशाली र निकै नै मनमोहक लाग्यो ।” उहाँले भन्नुभयो ।






