बाँके, १७ चैतः नयाँ शैक्षिक सत्र २०८३ नजिकिँदै गर्दा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले हिमाली जिल्लाहरूमा पाठ्यपुस्तक ढुवानीलाई तीव्रता दिएको छ । कर्णाली प्रदेशका दुर्गम जिल्ला हुम्ला र डोल्पामा सोमबारदेखि पाठ्यपुस्तक पठाउने तथा वितरण सुरु गरिएको हो ।
प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख रुद्र खनालका अनुसार नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै सबै विद्यार्थीको हातमा आवश्यक पाठ्यपुस्तक पुर्याउने लक्ष्यसहित वितरण अभियान अघि बढाइएको हो । उहाँले नेपालगञ्जस्थित गोदाममा कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाका लागि आवश्यक पुस्तक पर्याप्त मात्रामा आइपुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल गोदाममा करिब ८५ प्रतिशत पाठ्यपुस्तक मौज्दात रहेको छ भने बाँकी पुस्तक पनि क्रमशः आइरहेको छ । “हामीले भौगोलिक कठिनाइलाई ध्यानमा राख्दै पहिले हिमाली जिल्लालाई प्राथमिकतामा राखेका छौँ ।” उहाँले भन्नुभयो, “हुम्ला र डोल्पाका लागि वितरण सुरु भइसकेको छ र त्यहाँका बिक्रेताहरूले आवश्यक पुस्तक लगेका छन् ।”
पाठ्यपुस्तक वितरणलाई व्यवस्थित बनाउन समयतालिका बनाएर कार्यान्वयन गरिएको जनाइएको छ । सोही अनुसार चैत १६ गते हुम्ला र डोल्पा, १७ गते रुकुम पूर्व, १८ र १९ गते रुकुम पश्चिम, २० र २१ गते रोल्पा, २२ गते जाजरकोट, २३ र २४ गते सल्यान, २५ र २६ गते दाङ, २७ र २८ गते बर्दिया र २९ तथा ३० गते बाँकेमा पुस्तक वितरण गरिने योजना तय गरिएको छ ।
पहिलो चरणअन्तर्गत चैत मसान्तसम्म वितरण सम्पन्न गर्ने र त्यसपछि छुटेका स्थानका लागि वैशाख १ देखि १५ गतेसम्म दोस्रो चरणको वितरण सञ्चालन गरिने जनाइएको छ । सबै कक्षाका पुस्तकहरू सेटका रूपमा उपलब्ध गराइने भएकाले विद्यार्थीले विद्यालय खुलेको पहिलो दिनमै सम्पूर्ण पाठ्यपुस्तक पाउने व्यवस्था मिलाइएको प्रमुख खनालले बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष करिब १५ लाख ९१ हजार थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य राखिएको छ, जस्को अनुमानित मूल्य २१ करोड रुपैयाँ रहेको छ । हालसम्म १३ लाख ३५ हजार थान पुस्तक गोदाममा उपलब्ध भइसकेको छ । गत आर्थिक वर्षमा भने १२० बिक्रेतामार्फत १४ लाख ७३ हजार थान पुस्तक बिक्री भई १९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेपालगञ्ज कार्यालयमार्फत कर्णाली प्रदेशका हुम्ला, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यान तथा लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी १० जिल्लामा नियमित रूपमा पाठ्यपुस्तक वितरण हुँदै आएको छ । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तक वितरण गर्दै आएकोमा गत वर्षदेखि कक्षा ३ का पुस्तकसमेत समेटिएको छ ।
देशका विभिन्न क्षेत्रलाई समेट्ने गरी विराटनगर, पोखरा, भरतपुर, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी र काठमाडौँमा रहेका बिक्री केन्द्रमार्फत पाठ्यपुस्तक वितरण प्रणालीलाई विस्तार गरिएको छ । समयमै पुस्तक उपलब्ध गराउने यस अभियानले दुर्गम क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्रीको पहुँचमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।






