बाँके । बाँके कोहलपुर स्थित कौशिलानगरमा रहेको राष्ट्रिय सेवा दल सि.सं. ५१ एनसिसी जुनियर डिभिजन तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ । शुक्रबार राष्ट्रिय सेवादल कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकालको प्रमुख आथित्यमा उक्त तालिमको दिक्षान्त समारोह सम्पन्न भएको हो ।
नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रिय सेवा दलको मुख्य लक्ष्य भनेको युवाहरुलाई अनुशासित, नेतृत्ववान, वफादार, राष्ट्रप्रति समर्पित र राज्यका संस्थाहरुप्रति सम्मान गर्ने एक संस्कार युक्त नागरिक बनाउनु रहेको बताउँदै प्रमुख अथिति ढकालले तालिममा सहभागी विद्यार्थीहरुलाई नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जोगाई राख्नका लागी विद्यार्थीहरुलाई सधैं जिम्मेवारीका साथ अग्रसर भएर राष्ट्रिय एकताको भावनालाई थप बलियो बनाउन आग्रह गर्नुभयो ।
“तालिमको समयमा तपाईहरुले हासिल गर्नु भएको सैनिक कला, विपद् जोखिम न्यूनिकरण, राष्ट्रियता, नेतृत्व तथा व्यक्तित्व विकास, सैनिक ईतिहास, सामाजिक उत्तरदायित्व तथा अनुशासन सम्बन्धिका विविध सैद्धान्तिक एवं व्यवहारिक ज्ञानले भविष्यमा आउन सक्ने चुनौतिहरुलाई सहज रुपमा सामना गर्न सहयोग पुग्नेमा मैले विश्वास लिएको छु ।” प्रमुख अथिति ढकालले भन्नुभयो, “तपाईहरु सबैले राष्ट्रिय संकटको अवस्थामा कत्तिपनि विचलित नभई समाजलाई एकिकृत र धैर्यवान बनाई राख्न सकारात्मक सोंचका लक्ष्य प्राप्तिका लागी असल कर्म गरी रहन म अनुरोध गर्दछु ।”
हालसम्म यस सेवादल मार्फत ८२ हजार १ सय ८४ जना क्याडेड छात्र÷छात्राहरु दीक्षित भई सकेका छन् भने यस आर्थिक वर्ष ०८२÷०८३ को संस्थगत तालिममा ७ हजार ७ सय १० क्याडेड छात्र÷छात्राहरु मध्ये पहिलो चरणको सय दिने वार्षिक सामूहिक क्याम्पमा २ हजार २ सय २० जना छात्र÷छात्राहरु दीक्षित भई सकेका छन् । जस्मा १० जिल्लाका १८ वटा विद्यालयबाट दुई सय ७० जना छात्रा र दुई सय ७० जना छात्र गरी शुक्रबार जम्मा पाँच सय ४० जना विद्यार्थीहरुले दीक्षान्त कवाज प्रदर्शन गरेका थिए ।
उक्त तालिममा लुम्बिनी प्रदेशको दाङ्ग, बाँके र बर्दिया गरी तीन जिल्लाका विद्यालयहरुबाट विद्यार्र्थीहरु सहभागी भएका थिए भने कर्णाली प्रदेशबाट कालिकोट, सुर्खेत, सल्यान र रुकुम पश्चिम गरी चार जिल्लाका विद्यालयबाट विद्यार्थीहरु सहभागी भएका थिए । त्यसैगरी सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डढेलढुरा गरी तीन जिल्लाका विद्यालयबाट विद्यार्र्थीहरु सहभागी भएको राष्ट्रिय सेवा दल तालिम कोहलपुरले जनाएको छ ।
उक्त दीक्षित समारोहमा सहभागी विद्यार्थीहरुले कवाज प्रर्दशन गरेका थिए भने प्रमुख अथीतिबाट दीक्षान्त प्राप्त गर्ने उत्कृष्ट क्याडेट छात्र÷छात्राहरुलाई दज्र्यानी चिन्ह् प्रदान गर्नुका साथै पुरस्कार तथा प्रसंशापत्र प्रदान गर्नु भएको थियो । उक्त समारोहमा दीक्षित विद्यार्थीहरुले सामूहिक नृत्य, खुकुरी ड्रिल, तेकवान्दो, एरोविक्स समेत प्रर्दशन गरेका थिए । युवाहरुको व्यक्तित्व विकास गर्ने उद्येश्यले वि. सं. २०२२ सालमा स्थापना भएको श्री राष्ट्रिय सेवा दलले चार वटा शिक्षालय मार्फत नेपालका ७७ वटै जिल्लाहरुमा तालिम प्रदान गर्र्दै आईरहेको छ ।






