बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको शरीरमा रोग प्रवेश गर्न नदिन निरोधात्मक क्षेत्रमा सरकारले काम गर्ने बताउनु भएको छ । नेपालगन्जमा शनिबार बिहान प्रातःकालीन हिँडाइ (वाकाथन) को उद्घाटन गर्दै मन्त्री पौडेलले मानिसको जीवन अमूल्य भएको हुनाले यो जीवनलाई स्वस्थ राख्न सरकारले निरोधात्मक क्षेत्रमा काम गर्ने बताउनु भएको हो ।
कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री पौडेलले स्वस्थ जीवन जीउनका लागी प्रत्येक बिहान हिंड्ने बानी गर्न सबैलाई आग्रह समेत गर्नुभयो । मानिसको जीवन अमूल्य भएको हुनाले यो जीवनलाई स्वस्थ राख्न आवश्यक हुने हुँदा स्वस्थ जीवन जीउनका लागी प्रत्येक व्यक्तिले प्रत्येक बिहान हिंड्ने बानी आवश्यक रहेको बताउँदै आफ्नो शरीरको ख्याल आफैले राख्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
देशमा बिरामीहरुको संख्या प्रतिदिन बढिरहेको प्रशंगमा मन्त्री पौडेलले भन्नुभयो,“बिरामीहरुको उपचार गर्ने राज्यको दायित्व हो । त्यो दायित्व बहन गर्ने कुरा जटिल बन्दै गईरहेको छ । बिरामीहरुको उपचार गर्ने कामसंगसंगै हामीले बिरामीको संख्या बढ्न नदिने काम गर्न पनि आवश्यक छ । नागरिकको शरीरमा रोग प्रवेश गर्न नदिन सरकारले निरोधात्मक क्षेत्रमा काम गर्ने छ ।” उहाँले भन्नुभयो,“कुनैपनि मानिसले मलाई क्यान्स भैदियोस्, मेरो किड्नी खराब होस्, मेरो मुटु खराब होस् भन्ने चाहादैन । तर तीनै रोगले मानिसलाई दिनप्रतिदिन ग्रसीत गराई रहेको छ ।”
स्वस्थ जीवनका लागी राज्यसंगै व्यक्ति आफैले आफ्नो जीवनलाई स्वस्थ राख्न प्रत्येक बिहान हिंड्डुल गर्दै ब्याम गर्न मन्त्री पौडेलले आग्रह गर्नुभयो । “मानिसले सबैभन्दा बढी माया आफ्नै शरीरलाई गर्छ । आफ्नै शरीरलाई माया गर्न मानिसले सबै थोक गर्छ । तर त्यही सबैभन्दा बढी माया गरेको शरीरमा कसरी रोग प्रवेश गर्छ त्यो मानिसले आफैले थाहा पाउँदैन । यो विषयमा समयमै सबै सचेत रहन आवश्यक छ ।” उहाँले भन्नुभयो ।
नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. रुपानन्द अधिकारीले शरीरलाई तन्दुरुस्त बनाईराख्न दैनिक रुपमा हिड्नुपर्ने भएको हुँदा यस्तो कार्यक्रम राखिएको बताउनुभयो । कार्यक्रम संयोजक एवम् वरिष्ठ बालरोग विशेषज्ञ डा. किशोर खत्रीले स्वास्थ्य सचेतना विस्तार गर्ने तथा नेपालगन्जका पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्ने र आम नेपाली दाजुभाई, दिदीबहिनीलाई एकताको मालामा गास्ने उद्देश्यका साथ स्वास्थ्यका लागि प्रातःकालीन हिँडाइ भन्ने मुल नारासहित वाकाथन गरिएको बताउनुभयो ।
वाकाथनमा सांसद, सुरक्षा निकायका प्रमुख, सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, चिकित्सक तथा स्वास्थ्यकर्मी, धर्मगुरु, खेलाडी, पत्रकार, अपांगता भएका ब्यक्तीहरु, विद्यार्थी, सर्बसाधारण लगायत सहभागी थिए । यसअघि डा. खत्रीको संयोजनमा दाङमा पनि वाकाथन भईसकेको छ । नेपालगन्जको गणेशमान चोकबाट सुरु भएको वाकाथन वीपी चोक, बीरेन्द्र (धम्बोझी) चोक हुदै पुनः गणेशमान चोकमा पुगेर समापन भएको थियो । नेपाल चिकित्सक भेरी शाखाको आयोजनामा वाकाथन गरिएको हो ।






