बाँके । सरकारी निकायबाट अनुमति नलिइ नेपालगन्जमा सञ्चालनमा रहेको लर्डबुद्ध एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज शिक्षण अस्पतालले नाम परिवर्तन गरेको छ । सेवा सुविधा विस्तार लगायतका मागसहित कर्मचारी आन्दोलनमा उत्रिएपछि अस्पताल प्रशासनले बाहिर सञ्जीवनी अस्पतालको बोर्ड लगाएको छ ।
आन्दोलनरत कर्मचारीले एक पटक बोर्ड हटाए पनि पुनः सोही बोर्ड राखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले लर्डबुद्ध एकेमेडी लिमिटेडले भाडामा लिई नेपालगञ्ज शिक्षण अस्पताल नेपालगन्जबाहिर कुनै पनि प्रकारको अनुमितबिना सञ्जीवनी कलेज अफ मेडिकल साइन्सद्वारा सञ्चालित नेपालगन्ज हस्पिटल भन्ने बोर्ड राखेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टद्धारा जारी विज्ञप्तिमा सञ्जीवनीको नाममा बोर्ड राखी भित्र लर्डबुद्धको नाममा कारोबार भइरहेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ,‘सञ्जीवनी कलेज सञ्चालनका लागि तीनै तहका सरकारबाट कहिँ कतै अनुमति प्राप्त भएको भए २४ घण्टाभित्र पेस गर्ने र प्राप्त नभएको भए उक्त बोर्ड हटाइ कानुन बमोजिम अनुमतिपत्र गरे अनुसार कारोबार गर्न गराउन निर्देश गरिएको छ ।’






