बाँके । मानव वन्यजन्तु द्धन्द्ध न्यूतिकरण र वैकल्पिक जीविकोपार्जन प्रवद्र्धनमा स्थानीय पर्यटन उद्यमीहरुको अवसर सुदृढिकरण गर्न आज बाँकेमा कार्यशाला गोष्ठि सम्पन्न भएको छ । बाँके राष्ट्रिय निकुञ्जको आयोजनामा सम्पन्न भएको उक्त कार्यशाला गोष्ठिमा स्थानीय, प्रदेश र संघिय जनप्रतिनीधिहरुसंगै विभिन्न उद्योग सञ्चालन गरीरहेका युवा व्यवसायी, सम्बद्ध सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।
लुम्बिनी पर्यटन विकास परिषदको कार्यकारी निर्देशक रामु जोशीले बाँकेको पर्यटन प्रर्वद्धनका लागि यस क्षेत्रका सबै धार्मिक स्थल र पर्यटकीय क्षेत्रको भ्रमण गर्न सहज वातावरण बनाउने बताउनुभयो । उहाँले भन्नुभयो,“बाँकेमा पर्यटनको धेरै नै सम्भावना छ । यस्लाई प्रवद्र्धन गर्नको लागि प्रदेश परिषदले टुर प्याकेजको कार्यक्रमहरु चाँडै नै बनाउने योजना परिषदको रहेको छ ।”
पर्यटन प्रवद्र्धनका लागि परिषदले बनाउने योजनामा अन्तरप्रदेश समन्वयले सहकार्य गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । यसका साथै उहाँले पर्यटकीय क्षेत्रमा कलम चलाउने सञ्चारकर्मी र सञ्चारमाध्यमहरुलाई राज्यले विशेष संरक्षण गर्न आवश्यक रहेको औंल्याउनुभयो ।
उक्त गोष्ठिमा बाँके क्षेत्र नं. १ का सांसद एवं प्रतिनीधिसभा सदस्य सुर्य ढकालले बाँके जिल्ला पर्यटकिय क्षेत्रको प्रशस्तै सम्भावना बोकेको बताउँदै सरकारले बाँकेको विकासमा महत्वपुर्ण भूमिका खेलेको र आगामी दिनहरुमा पनि खेल्ने धारणा व्यक्त गर्नुभयो । नेपाल पर्यटन र संस्कृतिले सम्पन्न भएको देश भएको हुनाले यहाँ भएका धार्मिक स्थल, विभिन्न जातजातीको परम्परा र संस्कृति, खानाको परिकार आदिलाई प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
उक्त कार्यशाला गोष्ठिमा बाँके राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत वीरेन्द्र कंडेलले निकुञ्ज स्थापनाको उद्येश्यसंगै निकुञ्जले प्राप्त गरेको उपलब्धिका विषयमा जानकारी गराउनुभएको थियो । बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा हाल बाघको संख्या २३ रहेको र बाघको संख्या बढेसंगै संरक्षणमा चुनौती थपिएको बताउँदै बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको सङ्ख्या बढाउनका लागि घाँसेमैदानको क्षेत्रलाई बढाउँदै लगिएको निकुञ्ज प्रमुख कंडेलले जानकारी दिनुभयो ।
ओभरी नजिकैका क्षेत्रमा हात्ती सफारी, जङ्गल ड्राइभ र पैदल यात्राको प्याकेज निर्माण गरिएको छ । गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल ड्राइभको व्यवस्था गरिएको छ । ईनरुडेक र जेडएसएलको संयुक्त साझेदारीमा सम्पन्न उक्त कार्यशालामा लुम्बिनी प्रदेशसभा सदस्य नमुना केसीले बाँके निकुञ्जसँगै जोडिएको गाभर क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न जोड दिनुभयो । गाभरमा मात्रै वार्षिक २५ हजार आन्तरिक तथा बाह्य पर्यटक आउने बताउँदै उहाँले त्यस क्षेत्रमा आउने पर्यटकलाई निकुञ्जसम्म लैजाने गरी काम हुन आवश्यक रहेको बताउनुभयो ।
“गाभरमा थारु, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ ।” उहाँले भन्नुभयो,“बाँकेका प्रत्येक होटलमा छिर्दा पाहुनाले बाँके राष्ट्रिय निकुञ्जका तस्वीर देख्नु पाउनु पर्छ । यो पनि एउटा यस क्षेत्रका पर्यटन प्रवद्र्धनका लागि सहयोग पुग्ने माध्यम हुन् ।”
उक्त कार्यशाला गोष्ठिमा बाँकेको महेन्द्र बहुमुखि क्याम्पसका प्रध्यापक हरी सुवेदीले बाँके पर्यटकीय गन्तव्य बने पनि व्यवसायीक योजना बन्न नसकेको बताउँदै यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरोकारवाला निकायका सबैको सहकार्य हुन आवश्यक रहेको बताउँदै यहाँको चुरे क्षेत्रलाई विशेष संरक्षण गर्न जोड दिनुभयो । यसैबीच बाँकेको पर्यटन प्रबद्र्धन गर्नका लागि सो गोष्ठिले विभिन्न ६ बुँदे कोहलपुर घोषणापत्र २०८१ सार्वजनिक गरिएको छ ।






