बाँके । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले अपांगता भएका व्यक्तिहरुको समावेशीकरण र मूल प्रवाहीकरणका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । नेपाल परिवार नियोजन संघ बाँकेको आयोजनामा आज नेपालगञ्जमा आयोजित अपांगता भएका ब्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि प्रदेश स्तरीय कार्यशाला गोष्ठी लाई सम्बोधन गर्दै मन्त्री अग्रवालले अपांगताका भएका ब्यक्तिले अन्य ब्यक्ति सरह पाउनुपर्ने मानव अधिकारको सुनिश्चितताका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।
“अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार संवेदनशील छ ।” मन्त्री अग्रवालले भन्नुभयो,“मानव अधिकारका मापदण्ड अनुसार हरेक अपांगता भएका ब्यक्तिको यौन र प्रजनन स्वास्थ्य अधिकारको इज्जत, संरक्षण र पूर्ति आवश्यक गर्न प्रदेश सरकार कही कतैपनि चुक्नेछैन ।” अपांगमैत्री कानुन निर्माणका लागि पनि प्रदेश सरकार तयार रहेको उहाँको भनाई छ ।
नेपाल परिवार नियोजन संघ बाँकेद्धारा आयोजित उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवम् सांसद बादशाह कुर्मीले अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अधिकार संरक्षण र संबद्र्धनका लागि सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले आजको समयमा पनि अपांगता भएका व्यक्तिप्रति हेर्ने दृष्टिकोणमा विभेद भएको भन्दै दयाको साटो माया र संरक्षणको आवश्यकतालाई औंल्याउँदै नागरिक, समाज र सबै निकायहरु संबेदनशील हुनु पर्नेमा जोड दिनुभयो ।
नेपाल परिवार नियोजन संघ बाँकेका शाखा प्रबन्धक रश्मी श्रेष्ठले अपांगता भएका व्यक्तिले पनि अपांगता नभएका मानिसहरू जस्तै आफ्नो शरीर, यौन सम्बन्ध, यौनिकता र यौन स्वास्थ्यका बारेमा जानकारी प्राप्त गर्ने र आवश्यकता अनुसार गुणस्तरीय सेवा लिन पाउने अधिकार संविधान तथा अन्य नीतिगत तथा कानूनका कुराहरु सुरक्षित रहेकाले त्यसको पैरबी गर्न आवश्यक रहेको बताउनुभयो ।






