एजेन्सी । पछिल्लो जमानाका दिग्गज कलाकारमध्ये एक रणधीर कपुर आज अर्थात् फेब्रुअरी १५ मा आफ्नो जन्मदिन मनाइरहेका छन् । एक समय आफ्नो फिल्मका कारण चर्चामा रहने रणधीर, श्रीमती तथा पूर्व नायिका बबिता कपूरसँगको आफ्नो सम्बन्धका कारण अत्यधिक चर्चामा आए । रणधीर र बबिताको लभ स्टोरी जति चर्चित छ, त्यति नै उनीहरुको मनमुटाव पनि ।
रणधीर कपुर हिन्दी सिनेमाका शोम्यान भनिने राज कपुरका जेठो छोर हुन् । उनी दिवंगत नायक ऋषि कपुर र राजिव कपुरका दाइ हुन् । करिना र करिश्मा, रणधीर र बबिताका छोरीहरु हुन् । एकतिर पिता, श्रीमती र भाइहरुको शानदार फिल्मी करियर र अर्कोतर्फ इन्डष्ट्रिमा करिना करिष्माको सफलताले पनि रणधीरको चर्चालाई थप बढाउने गर्छ ।
रणधीर र बबिताको भेट फिल्म ‘कर आज और कल’ को सेटमा भएको थियो । यो फिल्ममा यी दुई नायक नायिका थिए । यहीँबाट यी दुईको प्रेम कहानी सुरु भयो र सन् १९७१ नोभेम्बर ६ मा उनीहरुले विवाह गरे । सन् १९७४ मा करिष्माको जन्म भयो र सन् १९८० मा उनीहरुका कान्छी छोरी करिना जन्मिइन् ।
विवाह र बालबच्चाबाहेक रणधीर आफ्नो फिल्मी करियरमा पनि फोकस थिए तर उनीहरुले यी सबैबीच तादम्य मिलाउन सकेनन् र सन् १९८८ मा उनले श्रीमती बबितासँग अलग हुने निर्णय लिए । रणधीर र बबिताले सम्बन्धविच्छेद गरेनन् तर उनीहरु छुट्टै बस्न थाले । १९ वर्षको मनमुटावपछि सन् २००७ अक्टोबरमा उनीहरु पुनः भेटे र चित्त नबुझेका सबैकुरा सल्टाए ।
हिन्दुस्तान टाइम्सलाई दिएको एक अन्तरवार्तामा रणधीर कपुरले श्रीमती बबितासँग अलग भएको कारणबारे जानकारी दिएका थिए । उनले भनेका थिए, ‘बबितालाई मेरो रहनसहनको तरिका मन पदैनथ्यो र मलाई बबिताले भने जसरी बस्न मान्य थिएन त्यसैले हामी विवाहित हुँदा हुँदै पनि अलग बस्ने निर्णय गर्यौं ।’
रणधीर कपुरले भनेका थिए, ‘बबिता मेरो जीवनको एक महत्वपूर्ण हिस्सा हुन् । उनले मलाई दुई प्रिय छोरीहरु दिएकी छिन् । हामी परिपक्व छौं र त्यतिबेला हामीले छुट्टै बस्नुमा नै भलाई सोच्यौं । हामी दुश्मन होइनौं । उनलाई लाग्यो कि म एक पियक्कड खराब मान्छे हुँ र अबेर राती घर फर्कन्छु, जुन उनलाई फिटिक्कै मन पर्दैनथ्यो ।’
‘र म उनले भने जसरी बस्न चाहन्नथेँ र उनले मलाई यसरी स्विकार्न सकिरहेकी थिइनन् । यद्यपि, हामी दुईले प्रेम विवाह गरेका थियौं । सो इट्स ओके । हामीले दुई छोरीहरुको लालनपालन गर्नुथियो । उनले दुबैलाई निकै राम्रो तरिकाले हुर्काइन् र उनीहरुलाई आफ्नो करियरमा सफल बनाइन् । एक पिताको रुपमा मलाई योभन्दा बढी के नै चाहियो र रु’
रणधीर कपुर र बबिता कपुर अहिले पनि छुट्टै बस्छन् तर उनीहरुलाई पारिवारिक कार्यक्रममा सँगै देख्न सकिन्छ । करिना र करिष्माले पनि आफ्ना आमा–बुवाको निर्णयमा आपत्ति जताएका छैनन् ।






