बाँके । बाँकेमा वेवारिसे अवस्थामा अवैध भन्सार छलीको सामान फेला परेको छ । वडा प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक अरुण बमका अनुसार बाँकेको नेपालगञ्ज उपमहनागरपालिका वडा नं.४ सल्यानीबागबाट आज एघार लाख अठासी हजार बराबरको सामान फेला परेको हो ।
उहाँका अनुसार भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याईएको मोबाईल फोनमा प्रयोग हुने एक हजार ८० पिस माबोईलको डिस्प्ले आज सल्यानीबागमा प्रहरीले फेला परेको हो । उक्त मोबाईलको मूल्य एघार लाख अठासी हजार बराबरको रहेको छ ।
फेला परेको उक्त मोबाईलको डिस्प्लेलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ । ‘यस कार्यालयबाट आज दिउँसो निस्किएको प्रहरी टोलीले उक्त वेवारिसो मोबाईलको डिस्प्ले फेला पारेको थियो ।’ उहाँले भन्नुभयो,‘त्यो सामानको मूल्य हिसाब गर्दा एघार लाख अठासी हजार बराबरको देखियो । अहिले थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाई सकिएको छ ।’






