बाँके । शरीरमा पानीको कमीले गर्दा एकै परिवारका तीन जना र एक बालकसहित चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सुचना अधिकारी एवं महामारीका फोकल पर्सन नरेन्द्र श्रेष्ठका अनुसार उक्त गाउँपालिका वडा नं. ३ स्थित गेग्ली गाउँमा एकै परिवारका तीन जना र एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएको हुनाले मृत्यु भएको पुष्टि गरिएको हो ।
मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेले सार्वजनिक गरेको प्रतिबदनका अनुसार झाडापखालाको कारण शरीरमा पानीको मात्रा कमी भएको हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो । नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहले भन्नुभयो,‘हामीले मृतकको उपचार गरेनौं । तर मृतकका आफन्तले भने अनुसार मृतक चारै जनालाई झाडापखाला भएको समयमा जीवन जल लगाएत अन्य झोलिलो पिउने कुराको अभावले गर्दा शरीरमा पानीको मात्रा कमी भएको हुनाले ज्यान गएको हुन सक्छ ।’
१४ गते देखि फैलिएको झाडापखला प्रकोपको रुपमा नरहेको उहाँले बताउनुभयो । बाँकेको नरैनापुर गाउपालिका वडा नं.३ स्थित गेग्लीका श्यामलाल पासीको घरमा देखिएको झाडापखला प्रकोपको रुपमा नरहेको नरैनापुर गाउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र दिनमा एक्कासी तीन देखि चार पटकसम्म पातलो दिशा भएकै कारण पासीको एकै घरका ३ जनाको मृत्यु भएको हो ।
स्वास्थय शाखा प्रमुख शाहका अनुसार मृतकलाई आफन्तले बिरामी हुँदा भारतीय क्लिनिमा उपचार गराएको र सोही क्रममा मृत्यु भएको थियो । मृत्यु भएपछि आफुहरुलाई जानकारी प्राप्त भएको स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो । उहाँले गेग्लीमा एकैदिन झाडा पखलाबाट कसैको पनि मृत्यु नभएको जानकारी दिदै भन्नुभयो,‘ एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको यही भदौ १४, १५ र १६ गते मृत्यु भएको हो ।’
उहाँले एकै दिन तीन जनाको मृत्यु नभएको बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख शाहका अनुसार मृतका आफन्तले नजिकैको स्वास्थ्य चौकीमा ल्याएर उपचार नगरेकै कारण लापरवाही गरेको हुनाले चार जनाको ज्यान गएको हो । ‘समयमै जाँच गरेको भए थाहा हुन्थ्यो ।’ उहाँले भन्नुयो,‘परिवारकै लापरवाहीले गर्दा अकालमा ज्यान गएको छ । यस्लाई चेतनाको कमीले गर्दा यस्तो घटना भएको भन्दा फरक नर्पाला ।’
नरैनापुर ३ कालाफाँटा स्वास्थ्य संस्थाका प्रमुख मो तैयब राइनले गेग्लीमा झाडा पखाला पैmलिएको जानकारी पाउने वित्तिकै आवश्यक औषधि सहितको टोली परिचालित भएको र गाउमा दुईजना बालबालिकालाई पखलाको विरामी भेटेपछि एकको स्थानीय स्तरमै उपचार गरेको र एक जनालाई भेरी अस्पतालबाट रिफर गरिएको बताउनुभयो ।
उहँले महामारीको रुपमा भनिएको झाडापखालाको बिरामी सोमबार दिनभरीमा दुई जना मात्र भेटिएको र त्यो पनि सामान्य उपचार गरी घर फर्किएको जानकारी दिनुभयो । पालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा अधिकांश ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने लगायतका समस्या लिएर स्वास्थ जाँच गराउन आएको कालाफाँटा स्वास्थ्य संस्थाका प्रमुख राइनले बताउनुभयो ।
बाँकेको नरैनापुरमा भेटिएका झाडापखालामा हैजाजन्य किटाणु नभएको भेरीमा उपचारत बिरामीको जाँचबाट खुलेको स्वास्थ्य शाखा प्रमुख अंगत शाहीले जानकारी दिनुभयो । नरैनापुर गाउँपालिकाले उक्त गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी पानी शुद्धिकरणको लागि आवश्यक औषधि बितरण गरेको छ । भेरी अस्पतालमा दैनिक झाडा पखालाका ५÷६ जना बिरामी उपचारको लागि आउने गरेको अस्पतालका मेसु डा प्रकाशबहादुर थापाले जानकारी दिनुभयो ।






