बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राष्ट्रिय बिमा कार्यक्रम पुनः सुरु भएको छ । स्वास्थ्य बिमा बोर्डले नेपालगन्ज मेडिकल कलेज कोहलपुरलाई राष्ट्रिय बिमा कार्यक्रममा सूचीकृत गरेपछि नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै कलेजमा सो सेवा सुरु गरिएको कलेजका संस्थापक प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनौडियाले बताउनुभयो ।
साउन १ गते बाट उक्त अस्पतालमा राष्ट्रिय बिमा कार्यक्रमको सुरुवात भएको जानकारी गराउँदै प्रबन्ध निर्देशक डा. कनौडियाले विपन्न परिवारका बिरामीले सेवा प्राप्त गर्न सकून भन्ने उद्देश्यले पुनः बिमा कार्यक्रम सुरु गरेको बताउनुभयो । सरकारले बिमा कार्यक्रम लागू गरेदेखि नै यो कार्यक्रमसँग जोडिएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गत वर्षदेखि बिमा कार्यक्रम स्थगित भएको बताउँदै विभिन्न झमेला बेहोर्नुपरेको र बोर्डले समयमै भुक्तानी नदिएको भन्दै बिमामा आबद्ध निजी मेडिकल कलेजहरू यसबाट बाहिरिएका थिए ।
पुनः सूचीकृत भएपछि यस आवदेखि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुनः बिमा कार्यक्रममा जोडिएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरका निर्देशक डा. रेशमबहादुर रानाले बताउनुभयो । बिमा कार्यक्रमबाट आफूहरूलाई प्रत्यक्ष फाइदा नभए पनि आम जनताको स्वास्थ्यसँग जोडिएको विषय भएकाले कलेजले सामाजिक उत्तरदायित्व बहन गर्ने हिसाबले पनि यो कार्यक्रम पुनः सुरु गरेको रानाको भनाई थियो ।
विगतमा कुरा बुझ्न र बुझाउन नसक्दा यसबाट अस्पताल र सेवाग्राही दुवै पक्षले धेरै झमेला व्यहोर्नुपर्ने अवस्था सिर्जना भएकाले आगामी दिनमा स्पष्ट बुझेर र सबैखाले औपचारिकता पूरा गरेर मात्र उपचारका लागि अस्पताल आउन उनले स्वास्थ्य बिमा कार्यक्रमका बिमितहरूलाई आग्रह गरे । ‘विगतमा कतिपय भ्रमहरू सिर्जना हुँदा यो कार्यक्रमबाट अस्पताल र सेवाग्राही दुवै प्रभावित हुनु परेको थियो ।’ उहाँले भन्नुभयो,‘यो वर्ष त्यस्तो हुँदैन । आफुले पाउने सेवा सुविधाबारे स्पष्ट भएर र सबै कागजी प्रक्रिया पूरा गरेर अस्पताल आउने सेवाग्राहीलाई बिमाबाट पाउने सबै सेवा अस्पतालले प्रदान गर्नेछ ।’
विगतमा बिमितहरू धेरै कुरामा स्पष्ट नहुँदा अनावश्यक रूपमा दुःख र झन्झट व्यहोर्नु परेको बताउँदै उहाँले भन्नुभयो,‘विगतमा एउटा अस्पतालबाट रिफर हुने अर्को अस्पतालमा सेवा लिने दिने गर्दा धेरै झमेला भयो ।’ उहाँले भन्नुभयो,‘अब यहाँ उपचारमा आउने स्वास्थ्य बिमा कार्यक्रमका बिमितहरूले स्पष्ट रूपमा प्रथम सेवा अस्पतालबाट ‘लर्ड बुद्ध एजुकेशनल एकेडेमी, नेपालगन्ज मेडिकल कलेज कोहलपुर’का नाममा रिफरल लेटर ल्याउनुपर्नेछ ।’
सबै औपचारिकता पूरा गरेर आएका बिमितहरूले तीन किसिमबाट सेवा लिन सक्ने व्यवस्था बिमा कार्यक्रममा भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पहिला ओपिडी सेवा, दोस्रो डेली प्याकेजमा दुई दिन सम्मको सेवा र तेस्रो भर्ना भएरै सेवा लिन सकिने व्यवस्था गरिएको छ । तर यसपटक ‘कोपे’अन्तर्गत स्वास्थ्य बिमाका बिमितहरूले जम्मा बिल रकमको निजी अस्पतालहरूमा २० प्रतिशत र सरकारी अस्पतालहरूमा १० प्रतिशत नगद तिर्नुपर्ने व्यवस्था गरिएको डा. रानाले बताउनुभयो ।
गत वर्षदेखि कोहलपुर मेडिकल कलेजमा बिमा कार्यक्रम स्थगित भएपछि यस क्षेत्रका स्वास्थ्य बिमामा जोडिएका बिरामीहरूलाई भेरी अस्पताल नेपालगन्जसम्म पुग्नुपर्ने बाध्यता थियो । स्वास्थ्य बिमाका सबै बिरामी भेरी अस्पताल जाँदा त्यहाँको सेवासमेत प्रभावित हुने गरेको थियो । तर कोहलपुरमै पुनः बिमा कार्यक्रम सुरु भएपछि यस क्षेत्रका आमनागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको डा. रानाको भनाई छ ।
सन् २०१८ देखि २०२३ सम्म पाँच वर्ष निरन्तर स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरले यो अवधिमा ३७ हजार ५ सय १० जनाभन्दा बढी बिमामा आबद्ध बिरामीलाई सेवा दिएको अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि अस्पतालले छुट्टै युनिट खडा गरेर स्वास्थ्य बिमाका बिरामीहरूलाई उपचार गर्दै आएको छ ।
राष्ट्रिय बिमा बोर्डले गत जेठमा नेपालगन्ज मेडिकल कलेज कोहलपुरसहित मुलुकका १० वटा शिक्षण अस्पताल र २ वटा आँखा अस्पताललाई राष्ट्रिय बिमा कार्यक्रममा सूचीकृत गरेको थियो । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मंगलबारदेखि बिमा कार्यक्रम पुनः सुरु भएको छ ।






