बाँके । बाँकेमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बाँकेको राँझा स्थित श्री बज्रदल गणको आयोजनामा बिहीबार नरैनापुर गाउँपालिका २ लक्षमनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिब, असहाय, अशक्त र विपन्न वर्गको निःशुल्क स्वास्थ्य सेवा गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको बज्रदलका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले बताउनुभयो ।
गणपति श्रेष्ठका अनुसार सैनिक अस्पताल नेपालगन्ज, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, नेपालगन्ज आँखा अस्पताल, एचसिआरसी अस्पताल नेपालगन्ज र शाही डेन्टल क्लिनिकको संयुक्त सहयोगमा सञ्चालित उक्त शिविरमा ६ सय ७० जना बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।
स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र जेष्ठ नागरिकको संख्या बढी रहेको प्रमुख सेनानी श्रेष्ठले बताउनुभयो । ‘यहाँ स्वास्थ्य जाँच गराउन आउनु भएका मध्य धेरै जसो महिला, बालबालिका र जेष्ठ नागरिक हुनुहुन्छ ।’ उहाँले भन्नुभयो,‘यो पालिका बाँकेको दुर्गम पालिका अन्तर्गत पर्ने हुँदा यहाँ गरीब विपन्न नागरिकहरुको बाहुल्यता र बजारमा भएका अस्पतालरक्लिनिकहरुमा प्रत्यक्ष पहुंच नभएको हुँदा हामीले निःशुल्क स्वास्थ्य जाँचको आयोजना गरेका हौं ।’
गणपति श्रेष्ठका अनुसार उक्त शिविरमा १६ जना विषेशज्ञ डाक्टर सहितको टोलीले स्वास्थ्य जाँच गराउन आएका बिरामीलाई सेवा प्रदान गरेका थिए । शिविरमा नशा तथा हाड जोर्नी, स्त्री सम्बन्धी महिला प्रसूति तथा बाँझोपन, छाला त्यसैगरी बालरोग, दन्त रोग, नाक कान घाँटी, आँखा, न्यूरो लगायतका अन्य रोगहरूको उपचार गरिएको थियो ।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले आफ्नो पालिकामा भएका जनताको स्वास्थ्यलाई ध्यानमा राखि निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गरेकोमा नेपाली सेनालाई धन्यबाद दिनुभएको थियो । उहाँले उक्त शिविरबाट शहरका महँगा अस्पतालमा सेवा लिनबाट वञ्चित विरामीले गाउँमै निःशुल्क रूपमा स्वास्थ्य जाँच गराउन पाउँदा सेवा प्रभावकारी भएको बताउनुभयो ।
सेनाद्वारा सञ्चालित एक दिने उक्त निशुल्क शिविरमा ५१ जना महिला र ५३ जना जेष्ठ नागरिकहरुले नशा तथा हाड जोर्नीको उपचार गरएका छन् भने ५६ जना महिला र ५३ जना पुरुषले छालाको उपचार गराएका छन् । त्यसैगरी २६ जना महिला र ३७ जना पुरुषले दाँतको उपचार गराएका छन् भने ४६ जना महिलाले आँखाको चेकजाँच गराउँदा ३१ जना जेष्ठ नागरिकमा मोति बिन्दुको समस्या देखिएको छ ।
यसरी विभिन्न रोगको उपचार गराउने मध्ये ३ सय ३८ जना महिला, २ सय ८२ जना जेष्ठ नागरिक र ५० जना बालबालिकाहरू गरी ६ सय ७० जना बिरामीले स्वास्थ्य जाँच गराएको गणपति श्रेष्ठले बताउनुभयो । उक्त शिविरमा श्री नं ४ वाहिनी अड्डा इमामनगर ब्यारेकका वाहिनिपती सहायकरथी रोशन शम्शेर राणाले प्रत्येक्ष रूपमा सहयोग पुर्याउने विभिन्न अस्पतालका १६ जना विषेशज्ञ डाक्टरहरुलाई धन्यबाद स्वरूप प्रसंशा पत्र प्रदान गर्नु भएको थियो ।
तस्बिर…….














