बाँके । नेपालगञ्ज स्थित केयर सिटी अस्पतालले सेवा सुविधा विस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदो स्थित भुजई गाउँमा सञ्चालित उक्त अस्पतालले २४ सैं घण्टा विशेषज्ञ चिकित्सक सहितको सेवा दिएर थप सुविधा विस्तार गरेको हो ।
अस्पतालका प्रबन्ध निर्देशक सन्तोष साहका अनुसार हाल अस्पतालले १५ बेड क्षमताबाट सेवा दिइरहेको छ । उक्त अस्पतालले स्वास्थ्य तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिको आवद्धतामा आफ्नो सेवा विस्तार गरेको प्रबन्ध निर्देशक साहले बताउनुभयो । अस्पतालले इमरजेन्सी, फार्मेसी, अत्याधुनिक प्रयोगशाला, एक्सरे तथा भिडियो एक्सरे सेवासहित २४ सैं घण्टा चिकित्सकको उपस्थितीमा आफ्नो सेवा विस्तार गरेको छ ।
अस्पतालमा आइसियु, एनआइसीयु, भेन्टिलेटर, अप्रेशन कक्ष र अत्याधुनिक प्रयोगशालाको सुविधा थपिएको छ । करिव २० करोडको लागतमा एक विघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा बालरोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, निसन्तान तथा बाँझोपन, हाडजोर्नी, न्यूरो सर्जरी, नाक कान घाँटी, जनरल सर्जरी तथा रेडियो विभाग रहेको छ ।
उक्त अस्पतालमा बिरामी जाँचका लागि देशकै राजधानी काठमाण्डौ देखि नेपाली सेनाका डाक्टर समेतले सेवा दिंदै आएको अस्पतालका प्रबन्ध निर्देशक सन्तोष साहले जानकारी दिनुभयो ।






