बाँके । बाँकेको नेपालगञ्जमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २२ पुरैनीमा शुक्रबार शिविर सञ्चालन गरिएको हो । कान्ति आरोग्य अस्पताल नेपालगञ्जको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा शिविर सञ्चालन भइरहेको छ ।
उक्त शिविरमा सुशील कोइराला क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. इन्द्रनिल घोषले पाठेघरको मुख नियमितरूपमा जाँच गराए क्यान्सरको जोखिमबाट बच्न सकिने बताउनुभयो । पाठेघरमा घाउ भए नभएको जाँच गरेर स्क्रिनिंग गरिने डा. घोषले बताउनुभयो । क्यान्सर हुनु भन्दा पहिले घाउ निको बनाउन सके क्यान्सरको जोखिम टर्ने उहाँको भनाई थियो ।
गर्भवती र महिनावारी भएको बेला जाँच गर्न नमिल्ने जानकारी दिँदै डा. घोषले २४ देखि ६५ वर्षका महिलाले जाँच गराउनुपर्ने बताउनुभयो । कान्ति आरोग्य अस्पतालका डा. रोमा बोराले लाज नमानेर जाँच गराउन महिलाहरुलाई आग्रह गर्नु भएको थियो । वडा नम्बर २२ का वडा अध्यक्ष अब्दुल गफ्फार हलवाईले शिविरबाट महिलाहरू लाभान्वित हुने बताउनुभयो ।
शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण पोजिटिभ देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताउनुभयो । नेपाल सरकारले क्यान्सर रोगका विरामीलाई उपचार खर्चका लागि एक लाख रुपैयाँ र लुम्बिनी प्रदेश सरकारले दुई लाख रुपैयाँ दिँदै आएको छ । यस्तै विरामीलाई जिविकोपार्जनमा सहजताका लागि मासिक पाँच हजार रुपैयाँ दिने गरेको छ ।
स्वास्थ्य महाशाखा प्रमुख चन्दका अनुसार समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीहरुमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर गर्दै आईएको छ । शिविरमा भेरी अस्पतालकी मेडिकल अधिकृत डा। समिक्षा चन्दले जाँच गरिरहेको स्वास्थ्य महाशाखाकी सिनियर अनमी निरीक्षक प्रेम कुमारी विसीले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षमा सात वटा वडामा शिविर संचालन गर्ने लक्ष्य छ । वडा नम्बर ६, १२, १५, १७, १८, २२ र २३ मा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम बमोजिम वडा नम्बर २३ रर २२ मा शिविर सम्पन्न भएको छ । वडा नम्बर २३ मा विहिबार गरिएको शिविरमा १ सय १० जना महिलाको पाठेघरको मुखको स्क्रिनिंग गरिएको छ । ती मध्ये १ जनामा पोजिटिभ देखिएको बताइएको छ ।






