नेपालगन्ज । चैत ६ गतेदेखि शुरु भएको नेपालगन्जमा जारी महोत्सवको पाँचौं दिन शनिबार चर्चित गायिका टिका पुनले आफ्नो बेजोड प्रस्तुती देखाउनु भएको छ । महोत्सवको सांगितिक कार्यक्रमले दर्शकको सहभागिता ह्वात्तै बढाएको छ । स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारलाई महत्वका साथ सहभागि बनाउने आयोजकको रणनीति स्वरुप नै दर्शकको सहभागिता दिनहुँ बढदै गएको हो ।
लगातार भएको सार्वजनिक बिदा र रंगहरुको पर्व होलीको पूर्व सन्ध्यामा शनिबार आयोजित महोत्सवको सांगीतिक कार्यक्रममा दर्शकहरुको भीड ह्वात्तै बढेको आयोजकले बताएको छ । महोत्सवको पाँचौं दिन चर्चित लोक दोहोरी गायिका टिका पुनले आफ्ना लोकप्रिय गित गाएर दर्शकलाई छमछमी नचाउनु भएको थियो ।
उहाँले आफ्नो सांगप्तिक प्रस्तुती राख्दै गर्दा दर्शकदीर्घाबाट हुटिङ्गको वर्षा भएको थियो । नेपालगन्जको वाटरपार्कमा जारी सातौं औद्योगिक, लघु, घरेलु तथा कृषि प्रविधि प्रर्दशनी, ब्यापार एवम् पर्यटन महोत्सव(२०८० मा चर्चित र्यापर डोङ्गको उपस्थिती हुने भनिएपनि डोङ्गको स्वास्थ्यमा समस्या हुँदा उपस्थित हुन नसकेको आयोजकले जनाएको छ ।
डोङ्गको उपस्थिती हुन नसकेपनि चर्चित लोक दोहारी गायिका टिका पुन, नृत्यङ्गना आरुसी मगर तथा गायिका रुपा घर्तीमगरको दमदार प्रस्तुतीले दर्शक मन्त्रमुग्ध बनेको झाँकी तथा कला सँस्कृतिक व्यवस्थापन उपसमितिका संयोजक अमृत सिग्देलले जानकारी दिनुभएको छ । यसअघि बिहीबार ज्योती मगरको बेजोड प्रस्तुतीले महोत्सव स्थल तातिएको थियो ।
आगामी चैत्र १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा भोली आईतबार चर्चित गायक प्रमोद खरेल, गायिका पूर्णकला बिसी, मोडल निशु श्रीपाली, चर्चित गायिका एवम उद्घोषिका शोभा त्रिपाठीको बेजोड प्रस्तुती रहनेछ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधुकुमारी खड्काले लगातार बिदा परेकाले दर्शकको उपस्थिती आगामी दिनमा झनै बढेर जाने बताउनुभयो ।
नेपालगन्जको धम्बोझी, वाटरपार्क, विशालनगर, चेजनगर, कारकाँदो, पुष्पलाल चोक लगायतको क्षेत्रबाट स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । राती ८ बजेसम्म चल्ने महोत्सवको सांगतिक कार्यक्रम कुनै कन्सर्ट भन्दा कम छैन । मुख्य आकर्षक सांगितिक कार्यक्रमका अलावा महोत्सवमा थारु गाउँ, विभिन्न थरीका झुलाहरुलगायत स्थानीय उत्पादनका राम्रा राम्रा बस्तुहरु समेत पाइने छ ।
महासंघ बाँकेकी अध्यक्ष खड्काले दिएको जानकारी अनुसार महोत्सवमा १ सय ७५ स्टल प्रर्दशनीमा राखिएको छ । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् । महोन्सव अवलोकनका लागि टिकट शुल्क १ सय रुपैयाँ राखिएको छ । विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
साथै महोत्सवमा बिहान १० बजेदेखि नै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगर समितिको सह–आयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ ।






