बाँके । बाँकेको डुडुवा गाउँपालिका अन्तर्गत दुई वटा स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा भएका छन् । लुम्बिनी प्रदेशमै पहिलो किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा भएको डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो ।
नेपाल सरकारले निर्माण गरेको ुकिशोर(किशोरीमैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९’ अनुसार डुडुवाको बेतहनी स्वास्थ्य चौकी र कम्दी स्वास्थ्य चौकीलाई मूल्यांकनको मापदण्ड अनुरुप घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख शर्माले बताउनुभयो ।
उहाँका अनुसार नेपाल सरकारको निर्देशिका अनुसार ८ वटा मुख्य सूचक र ४५ वटा उपसूचकको मूल्यांकनका आधारमा दुबै संस्थाले ल्याएको अंकलाई विश्लेषण गरी पालिका अन्तर्गत दुई वटा स्वास्थ्य संस्था किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था घोषणाघोषणा गरिएको हो ।
युएसएआइडी किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजना अन्तर्गत भेरी वातावरणीय विशिष्टता समूह बी(ग्रुप र केयर नेपालको सहयोगमा किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । डुडुवाका अन्य स्वास्थ्य संस्थाहरुमा मूल्याकन गरी सुधार गर्नुपर्ने कुरालाई समेटेर कार्ययोजना निर्माण गरिएको बी(ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले बताए ।
बुधबार एक समारोहका बीच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले घोषणाको प्रमाणपत्र वितरण गर्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा विशेष गरी किशोर–किशोरीको सहभागिताले घरपरिवार र समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । उनले पालिकाले प्रदान गरिरहेको स्वास्थ्य लगायतका सेवामा सबैको समानरुपमा पहुँच अभिबृद्धिका लागि कार्यक्रम सञ्चालन गरेकोले निर्धक्कका साथ सेवा ग्रहण गर्न सबैलाई आग्रह गरे ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले स्वास्थ्य संस्थाहरुको विकास, सेवाको गुणस्तरियता र शिक्षा अभिबृद्धिमा किशोर किशोरीहरुको भूमिका अझ बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।






