काठमाण्डौ । सरकारले पहिलो चरणको दोस्रो अभियानअन्तर्गत आजदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप वितरण गर्दैछ । दोस्रो अभियान अन्तर्गत यो खोप वितरण कार्यक्रम फाल्गुनकाको २ गतेदेखि ८ गतेसम्म हुनेछ ।
देशका ७७ जिल्लाका सरकारी संस्थान, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने र पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई खोप दिइने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले बताएका छन् । यसबाहेक काठमाण्डौ बाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि खोप दिने तयारी गरिंदै छ ।
यसअघि पहिलो चरण अन्तर्गत सरकारले पत्रकार, कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीलाई खोप दिएको थियो । त्यसअघि अग्रपङ्क्तिमा खटिएका डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइएको थियो । पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप अहिले दोस्रो अभियानअन्तर्गत लगाउने तयारी गरिएको हो ।
यसअघि पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजार जनालाई पहिलो प्राथमिकतामा राखे पनि अहिलेसम्म एक लाख ९० हजारभन्दा धेरैले मात्र खोप लगाएका छन् । डाक्टर पोखरेलका अनुसार खोप लगाएकाहरुलाई अहिलेसम्म गम्भीर खालका स्वास्थ्य समस्या नदेखिएको तर, टाउको दुख्ने ज्वरो आउने जस्ता सामान्य समस्या भने देखिंदै आएको छ ।






