काठमाण्डौ । सन्दीप लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । जिल्ला अदालत काठमाण्डौले शुक्रबार जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको थियो । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश शिशिरराज ढकालको इजलासले किशोरी साबालिग रहेको ठहर गरेको थियो ।
अदालतको आदेशपछि सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका हुन् । यस्तै उनले काठमाण्डौ जिल्ला अदालतले सजाय निर्धारणलगत्तै यथासम्भव छिटो फैसलाको पूर्णपाठ तयार पारी उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् ।
उनले भनेका छन्,‘सम्मानित अदालत र माननीय न्यायाधीशको स्वतन्त्रता र सक्षमतामा हामीलाई अटल आस्था, भरोसा र विश्वास छ । क्रिकेटर सन्दीप लामिछानेको हकमा काठमाण्डौ जिल्ला अदालतबाट दोषी ठहर हुने गरी भएको फैसलामा हाम्रो चित्त बुझेको छैन । हाम्रो पक्ष दोषी होइन भन्ने कुरामा हामी विश्वस्त भएको हुँदा थप कानुनी उपचारका लागि हामी उच्च अदालत जानेछौँ ।’ यो समाचार रातोपाटीमा छ ।






