जाजरकोट । त्रिपालमा बस्दै आएकी कुशे–९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको बुधबार ज्यान गयो । आर्थिक अभावले उचित उपचार नपाउँदा उनले अकालमै मृत्युवरण रोज्नुपर्यो । मंसिर १७ गते सुत्केरी भएकी उनले विपन्नताका कारण पेटभरी खाना खान नपाउने अवस्था थियो। बिहान बेलुकाको छाक टार्नै धौ–धौ भएकाले उचित उपचार पाउन सकिनन् ।
‘भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थियौं’, श्रीमान् गोपे सुनारले भने, ‘सुत्केरी भएदेखि नै बिरामी थिइन् । चिसोले मुख र जीउ सुन्निएको थियो। ठीक भइहाल्ला नि १ भनेर गाउँघरकै ओखतीमूलो गर्न तिर लाग्यौं । एक्कासि यसरी प्राण जाला भन्ने ठानेका थिएनौं ।’
स्वास्थ्य संस्थाहरू नाम मात्रैका भएको र त्यहाँ लगे पनि राम्रोसँग उपचार नहुने गरेको उनले गुनासो गरे। ‘अलि सुविधासम्पन्न अस्पताल लैजाने पैसा थिएन। त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लाग्यौं’, सुनारले भने, ‘२५ दिनको छोरा र २ वर्षको अर्को छोरालाई कसरी स्याहार्ने होला ?’ ज्याला मजदुरी गरी गुजारा चलाउँदै आएका उनले भने, ‘भूकम्पपछि काममा पनि जान पाएको छैन । घरमा खानेकुरा पनि केही छैन। मेरो त बिजोग भयो कसरी बाचूँ ?’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।






