बाँके । जिल्ला कारागार बाँकेभित्र रहेका कैदी बन्दीहरुलाई निःशुल्क कानुनी परामर्श, तनाव ब्यवस्थापन, सकारात्मक चिन्तन, उद्यमशिलता, उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिइएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जले बिहीबार परामर्श दिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आफु भित्रको आवेगलाई नियन्त्रण गर्न सकेमा जस्तो सुकै तनावलाई ब्यवस्थापन गर्न सकिने बताउनुभयो । कैदी बन्दीले आफुभित्रको तनाव ब्यवस्थापन गर्न जरुरी रहेको उहाँको भनाई थियो ।
सो कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जोशी, प्रदेश प्रहरी अस्पताल नेपालगन्जका प्रमुख एवम् एसएसपी डा. अमिनकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख सुवासचन्द्र बोहरा, कारागार कार्यालयका प्रमुख अर्जुनजंग शाह, एड्भोकेसी फोरमका बसन्त गौतम, सो क्रममा ब्रम्हाकुमारी मुना दिदी, समाजसेवी एवम् व्यवसायी गोपाल गिरी, इन्सेक नेपालगन्जका सरस्वती मल्ल, विभिन्न संस्थाका प्रतिनिधि लगायतले कैदी बन्दीलाई उत्प्रेरणा तथा मनोसामाजिक कानूनी परामर्शको आवश्यकता रहेको बताउनुभएको थियो ।
तीनसय पचास कैदी बन्दी अट्ने उक्त कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदी बन्दी राखिएको छ । आजसम्म त्यहाँ कैदी बन्दीको संख्या ९ सय ३६ पुगेको छ । सामुदायिक सेवा केन्द्रका अध्यक्ष जोशीका अनुसार अब कैदी बन्दीलाई नियमित रुपमा मनोसामाजिक परामर्श गरिनेछ ।
तस्बिर,,,,,,
















