बाँके । बाँकेमा राष्ट्रिय प्रसारण लाइनका लागि सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरिएको छ । सोलार विद्युत उत्पादनका लागि ब्लक १ र ब्लक २ गरी दुई ओटा आयोजना निर्माण सुरु गरिएको सोलार विद्युत् परियोजनाका परियोजना प्रबन्धक चन्द्रभान यादवले बताउनुभयो ।
उहाँले ब्लक २ गत आर्थिक वर्षको चैत महिनामा नै सम्पन्न भई १० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो भने ब्लक १ को १० मेगावाट सोलार विद्युत यही मंसिर २६ गते उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
परियोजना प्रबन्धक यादवका अनुसार बाँकेको खजुरा गाउँपालिकाको घिया र रनियापुर गाउँमा आयोजना निर्माण गरिएका छन् । हाल रनियापुरमा निर्माण सम्पन्न भएको परियोजनाको उत्पादन कार्य पहिलो पटक नेपाली कम्पनी नेक्सस इन्जिनियरिङ कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले गरेको परियोजना प्रबन्धक यादवले जानकारी दिनुभयो ।
गोल्यान समूहका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले लुम्बिनी प्रदेशका तीन जिल्लामा सोलारबाट ६० मेगावाट विद्युत् उत्पादन गर्न ६ वटा सोलार विद्युत् आयोजनाको निर्माण सुरु गरिएको थियो । जस अन्तर्गत बाँकेका दुई आयोजना सम्पन्न भई २० मेगावाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रशारण लाईनमा जोडिएको बताउनुभयो ।
लुम्बिनी प्रदेशका तीन जिल्ला मध्य दाङको सतबरियामा निर्माणाधीन दुई आयोजनाबाट २० मेगावाट विद्युत् र कपिलवस्तुको चन्द्रौटाबाट पनि दुई आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम भईरहेको गोल्यान समूहका प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी दिनुभयो ।






