टेक्सास । अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले ठक्कर दिँदा आठ जनाको मृत्यु भएको छ । मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे सो घटना भएको थियो ।
सो घटनामा परी कम्तीमा पाँच जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ । सो घटनाको मुख्य दोषी मानिएका चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ । ब्राउन्सभिल प्रहरीले घटना नियोजित हो कि होइन भन्ने स्पष्ट नभएको बताएको छ । तर, यसअघि अमेरिकी सञ्चारमाध्यमले भने प्रहरीलाई उद्धृत गर्दै यो जानाजानी हमला भएको बताएको थियो ।
नजिकैका एनरिक सान पेड्रो ओजानम सेन्टरका निर्देशक भिक्टर माल्डोनाडोले भने कि सिसिटिभी फुटेजमा एउटा एसयूभी रातो बत्ती बाल्दै दौडिरहेको र तीव्र गतिमा बस स्टपतर्फ गएको देखिन्छ । त्यसपछि गाडीले कर्बमा ठक्कर दियो र आफ्नो बाटोमा उभिरहेकाहरूलाई ठक्कर दिँदै सो कार अघि बढ्यो ।
सो घटनाका प्रत्यक्षदर्शी माल्डोनाडोले भने कि घटना हुनुभन्दा करिब आधा घण्टा अघि देखी करिब २० जनाको समूह बस स्टपमा गाडी पर्खेर बसिरहेका थिए । उनका अनुसार यसरी सार्वजनिक यातायात पर्खेर बस्नेहरुमा अधिकांश भेनेजुएलाका पुरुषहरू थिए ।






