एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा पनि उम्मेदवारी दिने घोषणा गरेकाछन् । बाइडेनले आज एक भिडियो सार्वजनिक गर्दै राष्ट्रपतिको उम्मेदवारका लागि औपचारिक अभियान सुरु गरेको जानकारी गराउनुभएको बीबीसीले जनाएको छ ।
स्वतन्त्रता र अधिकार खतरामा रहेको भन्दै उहाँले स्वतन्त्रता र अधिकारका लागि आफू दौडिरहेको बताएकाछन् । अमेरिकी इतिहासकै सबैभन्दा ज्येष्ठ राष्ट्रपति बाइडेनले सन् २०२४ मा हुने चुनाव जितेमा २०२९ मा दोस्रो पूर्ण कार्यकाल सकिँदा ८६ वर्षको हुनेछन् ।
बाइडेनभन्दा अघिका राष्ट्रपति डोनाल्ड ट्रम्प ७० वर्षको उमेरमा राष्ट्रपतिमा चयन भएका थिए । उमेरका कारण राष्ट्रपतिमा दोहोरिनु उपयुक्त हुन्न भन्ने मत रहे पनि डेमोक्र्याटिक उम्मेदवारीका लागि बाइडेनसँग अहिलेसम्म कुनै प्रमुख प्रतिद्वन्द्वी नदेखिएकोले उहाँको उम्मेदवारीको सहज बाटो निश्चितजस्तै रहेको बीबीसीले जनाएको छ ।






