कोहलपुर । कोहलपुर नगरपालिकाको १२ औं नगरसभा आजदेखि सुरु भएको छ । उक्त नगरसभामा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले अर्को बैठक बस्नु पूर्व सबै सभाषद समक्ष पुग्ने गरी चार वटा प्रस्ताव प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेका विषय मध्य कोहलपुर नगरपालिकामा साविक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९,
कोहलपुर बांगमय प्रतिष्ठान विद्येयक २०७९, बजेट, योजना तथा कार्यक्रम संशोधन र नगरपालिकाको संगठन संरचनामा हेरफेर लगायतका रहेका छन् । ती प्रस्ताव उपर आगामी माघ १३ गते बस्ने नगरसभाको र्को बैठकमा दफावर छलफल हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो । प्रस्ताव प्रस्तुत गर्नु अघि सार्वजनिक महत्वको बिषयमा आधादर्जन बढी नगरसभा सदस्यहरुले आआफ्नो धारणा राखेका थिए ।
सदस्यहरु लालबहादुर राना, गोविन्द वाग्ले, तारादेवी सिंह, कविराम पुलामी, इश्वरी विश्वकर्मा, माधव रिजाल र भीम पौडेलले सार्वजनिक महत्वको बिषयमा आआफ्नो धारणा राख्दै नगरपालिकाको समग्र विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । उनीहरुले कोहलपुर नगरपालिकाको विकासका लागि योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
ढल, नाला तथा सडक निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सहभागीहरुले त्यसको गुणस्तरीयताको सवालमा अनुगमन संयन्त्रलाई प्रभावकारी गराइनुपर्ने बताउनुभयो । डिजिटल कोहलपुरको अवधारणालाई साकार पार्नेदेखि शिक्षा र स्वास्थ्यमा नमुना पालिका बनाउने सवालमा सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक रहेकोमा नगरसभाका सदस्यहरुको जोड थियो ।
त्यसक्रममा नगरसभा सदस्यहरुले उठाएका केही सवालहरुको बारेमा जवाफ दिँदै नगर प्रमुख आचार्यले नगरपालिकाको नीतिगत सुधारका सवालमा सकारात्मक अभ्यासहरुको थालनी गरिएको जानकारी दिए । ठेक्का लिने तर सम्झौता अनुसार काम नगर्ने व्यवसायीहरुलाई खरिद ऐन अन्तर्गत कारवाहीको दायरामा ल्याइएको जानकारी दिए ।
त्यस्तै नगर उपप्रमुख संगीता सुवेदीले कोहलपुर नगरपालिकालाई व्यवस्थित नगरपालिका बनाउने सवालमा सकारात्मक कामहरुको थालनी भइसकेको बताए । नगरपालिकाले नगरभित्र भइरहेका कामहरुको प्रभावकारी अनुगमन र कमजोरी भएका स्थानमा सुधार्ने काम भइरहेको बताए । नगरसभाको अर्को बैठक माघ १३ गतेका लागि तोकिएको छ ।







