काठमाण्डौ । नेपाल–चीन अन्तर्देशीय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि नेपाल आएका ६ जना चिनियाँ प्राविधिकले काम थालेका छन् । तिब्बतको केरुङदेखि काठमाडौंसम्म रेलमार्गको सम्भाव्यता अध्ययनका लागि २ दिनअघि चीनबाट आएको टोलीले रेल विभागको सहकार्यमा काम अघि बढाएको हो ।
चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपका ६ जना इन्जिनियर रहेका उनीहरू रेल मार्ग निर्माणका क्रममा आवश्यक पर्ने पुल, सुरुङ, सडक पूर्वाधार विज्ञ रहेको रेल्वे विभागका प्रवक्ता अमन चित्रकारले बताए । सो टोलीले ‘पेपर वर्क’ गर्नुका साथै स्थलगत अध्ययनका लागि पनि जानसक्ने प्रवक्ता चित्रकारले बताए ।
रेलमार्गको सम्भाव्यता अध्ययन चिनियाँ सरकारको अनुदान सहयोगमा अघि बढेको हो । अध्ययनका लागि आवश्यक पर्ने प्राविधिक सहयोगपनि चिनियाँ पक्षले गर्नेछ । सम्भाव्यता अध्ययन सक्न ३ देखि साढे ३ वर्ष समय लाग्न सक्ने अनुमान गरिएको छ । नेपाल र चीनबीच विभिन्न समयमा भएका उच्चस्तरीय भेटघाटका क्रममा भएको सहमति अनुसार रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली नेपाल आएको हो ।
२ वर्षअघि नै सम्भाव्यता अध्ययन गर्ने सहमति भएपनि कोभिड लगायतका समस्याका कारण उनीहरु नेपाल आउन सकेका थिएनन् । रेल विभागका प्रवक्ता चित्रकारले भने–‘दुई देशका परराष्ट्रमन्त्री स्तरीय सहमति अनुसार सन् २०२२ को अन्तिमसम्ममा नेपाल चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भन्ने सहमति अनुसार उनीहरु काम सुरु गर्न आएका हुन् ।
नेपालको परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणका क्रममा पनि यो कुरा उठेको थियो । अहिले उनीहरुको ६ जनाको टोली छन् । यो एकदम गहन अध्ययन हुनुपर्ने विषय भएकोले, जुन भौगोलिक अवस्थिति छ, जुन भूवनोट छ, भूकम्पिय जोखिमको कुरा पनि छ । त्यसकारण यसको अध्ययन एकदमै गहिराईमा हुनुपर्ने अवस्था छ । त्यसका लागि उनीहरुका विभिन्न सेक्टरमा काम गर्ने इन्जिनियरहरु नेपाल आएर काम गर्छन् ।’
अहिले नेपाल आएको टोलीमा जनरल इन्जिनियर, जियो–टेक्निकल इन्जिनियर, एलाइन्टमेन्ट इन्जिनियर रहेको र आवश्यकता अनुसार थप अरु इन्जिनियर टोली नेपाल आउने संभावना रहेको छ । उनीहरुले पर्याप्त समय र जनशक्ति प्रयोग गरेर सम्भाव्यता अध्ययन गर्ने चित्रकारले जानकारी दिए । प्रवक्ता चित्रकारले भने–‘रेलमार्गको अध्ययन जटिल विषय भएकोले उनीहरुलाई निकै समय लाग्छ ।
आवश्यकता अनुसार उनीहरुले आफ्नो टिमको आकारपनि बढाएर लैजानेछन् । अहिले उनीहरु काठमाण्डौ बसेर काम गरिरहेका छन् ।’ वातावरणीय, सामाजिक विषय, जमिन प्राप्तिका विषय लगायतमा नेपालले अध्ययन टोलीलाई सहयोग गर्नेछ ।






