एजेन्सी । विश्व फुटबलकै महान खेलाडी ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । क्यान्सर पीडित पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै साओ पाउलोको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ । विश्व फुटबलकै महान मानिएका पेलेले ब्राजिललाई सन् १९५, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए ।
फुटबलका स्टार पेलेको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको पदक दिइएको थियो । विश्वकप फुटबलको उपाधि तीन पटक जित्ने एकमात्र खेलाडी पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।
पेलेको निधनमा रोनाल्डो, नेयमार र एम्बाप्पेले भने………
पेलेको आधिकारिक ट्विटर एकाउन्टबाट लेखिएको छ, ‘पेले केवल सर्वकालीक महान् खिलाडी मात्र थिएनन् । उनी त्योभन्दा बढी थिए । पेले कठिन समयमा कहिल्यै आत्तिएनन् । उनले आफ्नो पितासँग विश्व कप जित्ने वाचा गरेका थिए र उनले तीन पटक विश्व कप जिताए । उनले हामीलाई नयाँ ब्राजिल दिए र हामी उनको विरासतका लागि आभारी छौँ । धन्यबाद पेले ।’
उनको निधनमा विश्वभरका दिग्गज फुटबलरहरूले प्रतिक्रिया दिएका छन् । यही महिना विश्व कप जित्ने अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले पेलेसँग आफ्नो तस्बिर शेयर गर्दै लेखेका छन्, ‘रेस्ट इन पिस, पेले ।’
यस्तै वर्तमान समयका अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लेखेका छन्, ‘पेले लाखौँ मानिसका प्रेरणा रहेका छन् । उनको उदाहरण हिजो पनि दिइन्थ्यो, आज पनि दिइन्छ र सधैँ दिइनेछ । उनलाई कहिल्यै पनि बिर्सन सकिँदैन । उनको याद हामी फुटबलप्रेमीसँग रहनेछ । रेस्ट इन पिस, किङ पेले ।’
यस्तै ब्राजिल टिमका स्टार खेलाडी नेयमारले इन्स्टाग्राममा लेखेका छन्, ‘पेलेभन्दा अघि १० मात्र एक नम्बर थियो । मैले यो वाक्य कहीँ पढेको थिएँ । यो राम्रो छ तर अपूर्ण छ । म भन्न चाहन्छु कि पेलेभन्दा अघि फुटबल एक सुस्त खेल थियो । पेलेले सबै परिवर्तन गरिदिए । उनले फुटबललाई कला र मनोरञ्जनमा ढालिलिए ।’
यस्तै फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पेले पेलेसँगको तस्बिर शेयर गर्दै लेखेका छन्, ‘फुटबलका बादशाह हामीलाई छोडेर गए तर उनको विरासतलाई कहिल्यै भुल्न सकिँदैन । रिप किङ’






