काठमाण्डौ । फिफा विश्व कप फुटबल २०२२ को विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी बनेका छन् । कतारमा हालै सम्पन्न विश्व कपको उपाधि जित्ने क्रममा उनी नायक बनेका छन् । पाँच वटा विश्व कप खेल्दा अहिले पहिलो पटक उपाधि जिताएका मेस्सीले विश्व कपको ट्रफीलाई निकै माया गरेका छन् ।
उपाधि जितेसँग उनले हरेक ठाउँमा ट्रफी बोकेका तस्बिर सार्वजनिक भइरहेका छन् । मेस्सीले ओछ्यानमा जाँदासमेत ट्रफी छाडेका छैनन् । उनले फेसबुकमा राखेको तस्बिरमा ट्रफीसँगै सुतेको अनि केही पिएको देखिएको छ । ओछ्यानमा ट्रफीसँग मेस्सी निकै मख्ख देखिएका छन् ।
प्रतियोगिता जितेको अर्जेन्टिनी टोली आज मङ्गलबार स्वदेश फर्किएको छ । टोलीलाई समर्थकले भव्य स्वागत गरेका छन् । लाखौँ नागरिक सडकमा निस्किएर विश्व विजेता अर्जेन्टिनाको टिमलाई बधाई दिएका छन् । संसारभर उनको चर्चा भइरहेको छ ।






