काठमाणडौ । सरकारले सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाईलाई दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पाँच दिनसम्म अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सिभिल अस्पताल नयाँ बानेश्वरबाट खोप दिने जनाएको छ ।
भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको १० लाख डोज कोभिशिल्ड खोपमध्ये पहिलो चरणमा एक लाख ८४ हजार ८ सय ५७ जना स्वास्थ्यकर्मीलाई लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई आगामी शुक्रबारसम्म खोप दिन लागिएको हो ।
यसै प्रसंगमाः शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताएका छन् । भारत सरकारले नेपाललाई १० लाख डोज खोप सहयोग गरिसकेको छ ।
बहालवाला राज्यमन्त्रीमध्ये लामो अवधि गीत गाए वापत् ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ गराएपछि त्यसको प्रमाणपत्र लिन नयाँदिल्ली गएका मानन्धरले आज स्वदेश फर्केपछि उक्त जानकारी दिएका हुन् ।
उनले भारतसँगको दुईपक्षीय सम्बन्ध थप सुधार गर्न भारतीय पक्षबीच भएका वार्तामा कुराकानी भएको पनि जानकारी दिए । मानन्धरले गत पुस १० गते चार घन्टा पाँच मिनेट २० सेकेण्डसम्म लगातार गीग गाए उक्त रेकर्ड कायम गरेका थिए ।






