एजेन्सी । चीनले भारतसँगको सीमा क्षेत्र तवाङ र याङ्त्सेको अवस्था सामान्य रहेको बताएको छ । सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार्दै चीनले अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको बताएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताएको रोयटर्सले जनाएको छ ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुबै सेनाबीच झडप हुँदा दुबै पक्षका केही व्यक्तिलाई सामान्य चोट लागेको थियो । यसैबीच लोक सभामा बोल्दै रक्षामन्त्री राजनाथ सिंहले अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा पीएलएबाट अतिक्रमणको प्रयास भएको र त्यसलाई भारतीय सेनाले बहादुरीका साथ विफल बनाएको बताए ।
साथै उनले यो मुद्दा कुटनीतिक माध्यमबाट चीनसँग उठाइएको जानकारी दिए । भारत र चीनका सेनाबीच भएको झडपलाई लिएर भारतको केन्द्रीय संसदमा आज मङ्गलवार विपक्षी सांसदहरूले विरोध गरेका थिए । रक्षामन्त्रीको सम्बोधन लगत्तै विपक्षी नेता सरकारको विरोध गर्दै लोक सभाबाट बाहिरिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।






