काठमाण्डौ । नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङले कोही पनि मान्छे भोकै र नाङ्गै बस्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको बताएका छन् । मानव सेवा आश्रमले नेपथ्य ब्यान्डसँगको सहकार्यमा आउँदो मङ्सिर १६ गतेदेखि देशका प्रमुख १० सहरमा सुरु गर्न लागेको महिनाव्यापी साङ्गीतिक यात्रा (नेपथ्य लाइभ कन्सर्ट) को पूर्वसन्ध्यामा बिहीबार आश्रमको काठमाण्डौ शाखा रानीवनमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक गुरुङले यस्तो बताएका हुन् ।
गायक गुरुङले मानवीय सेवाका लागि आफू सम्पर्क सेतु भएर काम गर्न तयार रहेको बताएका छन् । ‘हामी एउटै अनुरोध गर्न सकौँ कि कुनै पनि मान्छे भोकै सुत्न नपरोस्, कुनै पनि मान्छे नाङ्गै हिँड्न नपरोस्’, उनले भने । मानव सेवा आश्रममा संरक्षित बेसहाराहरूको भोजन सेवामा सरिक हुँदै उनले आफू त्यसका लागि निमित्त वा सेतु भएको तर आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने जिकिर गरे ।
‘काठमाण्डौ उपत्यकामा ३५४० लाख मान्छे बस्छन् होला तर ३५ जना मान्छे यो किसिमको भावना र सेवाका निम्ति आउन गाह्रो पर्ने ठाउँ हो, आश्रमले जुन तरिकाले काम गरिरहेको छ यहाँहरूलाई नमन छ, यहाँहरूको उद्देश्यलाई हामी होस्टेमा हैंँसे गर्दै जाने प्रयास गर्नेछौँ’, गायक गुरुङले थपे । उनले आश्रमले देखाएको बाटोमा आफूहरू हिँड्न कोसिस गर्ने प्रतिबद्धता पनि जनाए ।
मानवीय कार्य अघि बढाएकोमा आश्रमलाई धन्यवाद दिँदै गायक गुरुङले आश्रित बेसहाराहरूतर्फ फर्किएर भने, ‘छिट्टै हामी मिलेर साङ्गीतिक कार्यक्रम गर्दैछौँ, हामीहरूलाई आशीर्वादको धेरै आवश्यकता छ, हामीलाई आशिष दिनुहोस्, तपाईँहरूका निम्ति हामी अरू धेरै काम गर्न सकौँ ।’ आश्रमका प्रमुख संरक्षक संस्कृतिविद् डा. गोविन्द टण्डनले साङ्गीतिक माध्यामबाट विभिन्न सामाजिक अभियानमा लाग्नुभएका वरिष्ठ गायक अमृत गृरुङले मानव सेवा आश्रममै आएर सेवालाई प्रत्यक्ष अवलोकन गरी सेवाको अनुभूत गरेकामा खुसी व्यक्त गरे ।
मानव सेवा आश्रमले मानवताका लागि अभियान चलाउँदै आएको र यो साङ्गीतिक कार्यक्रमले मानवता प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने उनको विश्वास छ । मानव सेवा आश्रमको निर्माणाधीन भवनहरू सम्पन्न गर्न र आश्रमको सेवालाई चुस्त बनाउने उद्देश्यले स्थापना गर्न लागिएको अक्षयकोषका लागि आश्रमले नेपथ्य लाइभ कन्सर्ट आयोजना गर्न लागेको हो । नेपथ्य लाइभ कन्सर्ट विराटनगरमा मङ्सिर १६ गतेदेखि सुरु भइ काठमाण्डौमा पुस १६ गते समापन हुनेछ । उज्यालो






