नेपालगञ्ज । नेपालगंजस्थित महेन्द्र पुस्तकालयको स्तरबृद्धि गर्न साहित्यकारहरु र पुस्तकालयको व्यवस्थापन समितिको बीचमा छलफल भएको छ । मंगलबार पुस्तकालयकै भवनमा साहित्यकारहरु र व्यवस्थापन समितिको बीचमा छलफल भएको हो । उक्त छलफलमा ‘कर्मयोगी बद्री विक्रम थापा स्मृति सेवा गुठी काठमाडौं’ का कोषाध्यक्ष किरण थापाले पुस्तकालयसम्म ग्रामिण क्षेत्रको पहुँच र बालबालिकामैत्री बनाउन आवश्यक रहेको बताए ।
कोषाध्यक्ष थापाले आफ्ना पिता बद्रीविक्रम थापाले बाँके जिल्लामा बडाहाकिम भएर सेवा गरेको र आफ्नो मावली यही जिल्लामा भएको कारणले यो ठाउँसंग आफ्नो अपनत्व भएको अनुभव सुनाएका थिए । उनले मावली र बुवाको कर्म थलो भएको नाताले पनि आफुलाई यस क्षेत्रप्रति एउटा बेग्लै लगाव भएको पनि बताए । उनले महेन्द्र पुस्तकालयलाई सबै कुराले सुसम्पन्न पार्न आफू सम्बद्ध गुठीले पुस्तकालयसंग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
उक्त छलफलमा नेपाल लघुकथा समाजका अध्यक्ष श्रीराम श्रेष्ठ ‘रोदन’ ले महेन्द्र पुस्तकालयको सुविधा र स्तर बृद्धि गर्न व्यवस्थापन समितिले योजनाबद्ध ढङ्गबाट अधि बढ्नु पर्ने सुझाव दिएका थिए । यसकालागि आफुले पनि विभिन्न दातृ समुहबाट सहयोग जुटाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । छलफलमा अध्यक्ष रोदनले पुस्तकालयलाई क्षमता र सुविधाले सम्पन्न बनाउनकालागि सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
बारखरी डट कमका सम्पादक राजेश खनालले पुस्तकालयले स्रष्टा र पाठक बीच समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए । उक्त छलफलमा महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव र सचिव मणीरत्न अर्यालले महेन्द्र पुस्तकालयको भावी योजना बारे प्रकाश पारेका थिए । कार्यक्रममा पुस्तकालय व्यवस्थापन समितिका पदाधिकारीहरुका साथसाथै कथाकार सनत रेग्मी, किरण आचार्य, डा. इन्द्रबहादुर भण्डारी, खगेन्द्र गिरि ‘कोपिला’, रिचा लुईटेल लगाएतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
परिचयबाट शुरु गरिएको उक्त छलफल कार्यक्रममा कार्यक्रममा कथाकार सनत रेग्मीले महेन्द्र पुस्तकालयको ईतिहासदेखि वर्तमानसम्मको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागी विभिन्न विधाका साहित्कारहरुले आफ्नो साहित्यिक यात्राको बारेमा जानकारी गराउँदै आफुहरुद्धारा प्रकाशित पुस्ततको बारेमा पनि चर्चा गरेका थिए । साथै उनीहरुले विमोचन हुन नसकेको कृतिहरुलाई चाँडै नै विमोचन गर्ने र यस क्षेत्रबाट जन्मने सर्जक संरक्षणकालागि आफ्नो दायित्वहरु पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।






