काठमाण्डौ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताएका छन् । बुधवार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै अभिनेतासमेत रहेका केसीले चलचित्र क्षेत्रको उत्थान र विकासका लागि आफु राजनीतिमा प्रवेश गरेको बताएका हुन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग बोल्दै कार्यकारी अध्यक्ष केसीले आफूलाई चलचित्र क्षेत्रको विकासका लागि ठूलो जिम्मेवारी आएको बताए । उनले आफू ४ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा रहेकोले चलचित्र क्षेत्रका समस्यामा अवगत रहेको उल्लेख गरे ।
उनले आगामी दिनमा नेपाली चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्ने र विशेष गरी चलचित्र प्राविधिकहरुको समस्यामा जोड दिने प्रतिवद्धता जनाए ।अध्यक्ष केसीले नेपाली चलचित्र क्षेत्रमा सानैदेखि प्रवेश गरेको भन्दै आफू बाँचुन्जेल चलचित्र क्षेत्रको उत्थानको लागि काम गर्ने बताए ।






