काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले ई–स्पोर्ट्सका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको प्रष्ट पारेका छन् । ई–स्पोर्ट्सका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उठेका प्रसङ्गका विषयमा ध्यानाकर्षण भएको जनाउँदै मेयर शाहले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्,‘सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको छ । ई(स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई(स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो ।
नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दैछ भने यहि बर्ष हुने एसियाली खेलमा ई(स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई(स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।
कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन । साथसाथै, यो बिषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु ।’
यस्तै मेयर शाहले कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्नेजस्ता गैरकानुनी र अनैतिक काममा महानगर सामेल नहुने उनले प्रतिबद्धता जनाए ।






