काठमाण्डौ । नेपाली फिल्म इण्डस्ट्रिमा नायिका पूजा शर्मा र आकाश श्रेष्ठको जोडीलाई मन नपराउने को होला ? यि दुवैको जोडीलाई दर्शकहरुले रिलमा मात्र नभएर रियलमा पनि हेर्ने इच्छा प्रकट गरेका थिए । तर पछिल्लो समयमा नायिका शर्माले आफु अर्कैसंग रिलेसनमा भएको बताउँदै बोयफ्रेण्ड युद्ध बानियालाई सार्वजनिक गरेपछि भने उनीहरुका फ्यानहरु नै उनीसंग रिसाएका थिए । तर समय बित्दै जाँदा फ्यानहरुले पनि पूजा र उनको बोयफ्रेण्डलाई स्वीकार गरेसंगै अहिले फेरी पूजा आकाशसंगै एउटै स्क्रिन शेयर गरेकी छन् ।
पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना बिर्सना’ को ‘परेलीमा ’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । उक्त गीतकालागी गरिएको पत्रकार सम्मेलनमा पूजा र आकाश लामो समयपछि एकै साथ देखिएका हुन् । सोही कार्यक्रममा पत्रकारद्धारा सोधिएको प्रश्नको जवाफ दिंदै नायिका शर्माले आकाश सधैं आफ्नो सम्झनामा आई रहने बताएकी थिईन् । यतिमात्र नभई उनले आफुले आकाशलाई कहिल्यैपनि बिर्सन नसक्ने पनि बताएकी थिईन् ।
निमेष प्रधान निर्देशित फिल्मको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ । पूजा र आकाश फिचर्ड गीतको शब्द र संगीत पनि निर्देशक निमेषकै हो । आगामी ६ जेठमा प्रदर्शन हुने फिल्मको प्रस्तुतकर्ता अद्वितीय प्रधान हुन् भने निर्मातामा रेबिका प्रधान छिन् । निर्देशक निमेषले आफ्नो फिल्ममा नौलो प्रेमकथा प्रस्तुत गरिएको बताए । गायक, गीतकार र संगीतकारसमेत रहेका निमेषले आफ्नो फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने दावी पनि गरे ।
फिल्मका प्रस्तुतकर्ता अद्वितीयले आफूहरू निरन्तर नेपाली फिल्म निर्माण गर्ने योजनामा रहेको बताउदै ‘सम्झना बिर्सना’ ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । अभिनेत्री पूजाले ‘सम्झना बिर्सना’ टिमसँग काम गर्न पाउँदा निकै खुसी लागेको बताइन् । उनले अभिनेता आकाश आफूलाई सहज लाग्ने बताउँदै दर्शकले आफूहरूलाई यो फिल्ममा पुनः एकपटक संगै देख्न पाउने बताइन् ।
‘मलाई आकाश र पलसँग काम गर्न निकै सहज लाग्छ । दर्शकले पनि म र आकाशलाई फेरि एकपटक पर्दामा हेर्न चाहनु भएको छ । त्यसकारण पनि मलाई यो फिल्मप्रति निकै मोह छ,’ उनले भनिन् । फिल्म निकै राम्रो बनेकाले फेरि पनि सबैको माया पाउनेमा ढुक्क रहेको उनले बताइन् । अभिनेता आकाशले ‘सम्झना बिर्सना’ सम्झन लायक फिल्म भएको बताउँदै कोरोनापछि यही फिल्ममार्फत आफू पर्दामा आउन लागेकोमा दर्शकको माया पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा निर्मात्री रेबिकाले आफूहरूले निकै मिहिनेतका साथ फिल्म बनाएकाले सबैको साथ, हौसला र मायाको आशा राखेको बताइन् । छायांकार शिव ढकालले दर्शकको मनोरञ्जनका लागि निकै मिहिनेतका साथ फिल्म निर्माण गरिएकाले सफल हुनेमा सतप्रतिशत विश्वस्त रहेको बताए । कोरियोग्राफर कमल राईले हरेक वर्गका दर्शकलाई यो फिल्म मन पर्ने दावी गरे । आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा पूजा र आकाशका साथमा सुनील थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।
दार्जिलिङ, सिलिगुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने संवाद लेखनमा उनलाई शिशिर राणाले साथ दिएका छन् । फिल्ममा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्सन राम कार्की र कृष्ण प्रधानले सम्हालेका छन् । भिडियो






