काठमाण्डौ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गायक राजेशपायल राई लगाएत केही अन्य कलाकारहरुले पनि भेट गरेका छन् । उनीहरुले आज बिहीबार बिहान खुमलटार स्थित प्रचण्ड निवासमा गएर प्रत्यक्ष रुपमा भेट गरेका हुन् । उनीहरुले अध्यक्ष प्रचण्डसंग नेपाली गीतसंगीत, पछिल्लो समयको राजनीतिक विषय वस्तु, एमसिसि लगाएत बिषयमा कुराकानी गरेका थिए ।
पार्टी अध्यक्ष प्रचण्डसंग भेटघाटको कार्यक्रम भने संगीतकार चेतन सापकोटाले गराएका थिए । प्रचण्डलाई भेट्न उनको निवासमा कलाकार सन्दीप क्षेत्री, संगीतकार चेतन सापकोटा, मोडल करिश्मा ढकाल लगायतका कलाकार टोली पुगेका थिए । प्रचण्डको चाहना अनुरुप कलाकार टोली प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
‘प्रचण्डले लोकदोहोरी गायिका कल्पना दाहाल, मोडल करिश्मा ढकाल, राजेशपायल राई, सन्दीप क्षेत्रीलगायत केही कलाकारको प्रतिभाबाट म प्रभावित भएँ चियाका लागि बोलाउनु, शुभकामना दिनु पर्यो भन्नु भएको थियो’ सापकोटाले भने ‘सोही अनुसार भेट गरेका हौँ । केही कालाकार भने स्वास्थ्यमा समस्या भएका कारणले सहभागी हुन सकेनन् ।’
भेटमा गायक राइले नेपाली गीतसंगीतको विकास, जनयुद्ध र पछिल्लो राजनीतिको बिषयमा कुराकानी गरेको सापकोटाको भनाइ छ । भेटमा प्रचण्डले गायक राईलाई राजनीतिमा आउने सोच रहेको छ कि छैन भनेर समेत सोधेका थिए । सो अवसरमा राईले राजनीतिमा आउने अहिले सोच नभएको बताएको सापकोटाले जनाकारी दिए । प्रचण्डसंगको भेट अघि गायक राईले एक अन्तरवार्तामा खुलेरै प्रचण्ड र नेकपा माओबादी केन्द्रको प्रशंसा गरेका थिए ।






