काठमाण्डौ । कोरोनाको तेस्रो लहरको कारण बन्द भएका फिल्म हल १ फागुनबाट खुल्ने भएका छन् । फागुन १ गतेदेखि लागु हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेपछि फिल्म हल खुल्ने भएका हुन् । हल खुल्ने भएपछि चलचित्र संघ त्यसको तयारीमा जुटेको छ ।
फिल्म हल १ फागुनमै खुलेपनि दर्शकले नयाँ फिल्म हेर्न भने केही साता अझै पर्खनु पर्नेछ । किनभने १ फागुनबाट केही साता पुरानै फिल्म लाग्ने भएको छ । चलचित्र संघका महासचिव अशोक शर्माले १ फागुनमा फिल्म हल खुलेपनि सुरुमा पुरानो फिल्म रिलिज हुने बताए ।
‘रिलिज भएको केही दिनमै हल बन्द हुँदा मारमा परेका केही फिल्म छन्,’ शर्माले भने ‘हल खुल्ने बितिकै पहिले ति फिल्म लाग्नेछ । त्यसपछि अन्य नयाँ रिलिज हुन्छ ।’ सुरुको केही साता पुरानो फिल्म लाग्दा कोरोनाले मारमा परेको फिल्मलाई राहात मिल्ने शर्माले सुनाए ।
कोरोनाको तेस्रो लहरमा फिल्म हल बन्द हुँदाको समय स्पाइडरम्यान, पुष्पा, कठ्पुतली, चपली हाइट ३ लगायत प्रदर्शनमा थिए । हल खुलेपछि सुरुमा यी नै फिल्म रिलिज हुनेछ । प्रतिक्षामा रहेका दर्शककालागी यो खुशीको कुरा हुनेछ ।






