काठमाण्डौ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले अमेरिकामा कोरोना भाइरस महामारीको चौथो चरण थप जोखिमपूर्ण हुने चेतावनी दिएको छ । सीडीसी प्रमुख डा.रशेल वालेन्स्कीले तीव्र गतिमा सङ्क्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट जोखिमपूर्ण हुने बताउनुभएको बीबीसीले जनाएको छ ।
गएको हप्ता दैनिक औसतमा ७० हजार जनामा सङ्क्रमण देखिएको र त्यो अति उच्च रहेको डा. वालेन्स्कीको भनाइ छ । गएको हप्ता औषतमा दैनिक दुई हजार अमेरिकीको कोरोनाका कारण ज्यान गएको थियो । डा.वालेन्स्कीले नयाँ भेरियन्टको सङ्क्रमण तीव्र गतिमा फैलिएकोले महामारी नियन्त्रणका लागि बनाएको आधार पनि डगमगाउने खतरा रहेको चेतावनी दिएका छन् ।
बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका कोरोना भाइरसका नयाँ भेरियन्टहरु बढी सङ्क्रामक र जोखिमपूर्ण देखिएको भन्दै सीडीसीले यसलाई नियन्त्रण गर्न थप पहलहरु आवश्यक रहेको बताएको छ । कोरोना महामारीका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा दुई करोड ९३ लाख १४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने पाँच लाख २७ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।






