काठमाडौ । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बिहानै बामदेव गौतमसँगको भेटवार्तापछि पार्टी कार्यालय पेरिसडाँडामा जनता समाजवादी पार्टी (जसपा) को नेताहरुसँग छलफल गरेका छन् ।
छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए । बैठकमा नेकपा अध्यक्षद्वय प्रचण्ड–नेपालले राजनीतिक परिस्थिति र सहकार्य गरेर अघि बढ्ने विषयमा बोलेका थिए । बैठकमा जसपाको तर्फबाट प्रचण्ड–नेपाललाई पहिलो प्रश्न नै ‘तपाईहरुको कुन पार्टीको हो ?’ भनेर सोधेका थिए ।
बैठकपछि जसपाका नेता राजेन्द्र महतोले भने, ‘हामीले तपाईहरु कुन पार्टीको हो ? भनेर सोध्यौं । आधिकारिक पार्टी त चाहियो नि ।’ नेकपाको पार्टी आधिकारिकताको विवाद नटुंगिएका कारण जसपाले प्रचण्ड–नेपाललाई यस्तो प्रश्न उठाएका थिए । बैठकमा प्रचण्डले आफूहरु नै आधिकारिक रुपमा नेकपा भएको बताएका थिए ।
बैठकमा विगतमा संविधान संशोधनका सवालमा कांग्रेस, एमाले, माओवादीसित भएका सम्झौता कार्यान्वयन, बन्दी रिहाई लगायतका विषयमा आफ्नो पार्टीको तर्फबाट भनाइ राखिएको नेता महतोले जानकारी दिए । प्रचण्ड–नेपालले राखेको प्रस्तावहरुका बारेमा पार्टीमा छलफल गरिने पनि उनले जानकारी दिए । भिडियोसहित
https://youtu.be/mbFf4OH7fOQ






