बाँके, २३ मंसिरः लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लैंगिक हिंसा नगर्ने प्रतिवद्धता गर्नु भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सामाजिक विकास मन्त्रालयले नेपालगन्जमा मंगलबार आयोजना गरेको कार्यक्रममा मन्त्री तिमिल्सिनाले लैंगिक हिंसा आफूले नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
“हामीले आजैबाट प्रतिबद्धता व्यक्त गरौं कि, हामी सबैले आफ्नो घरमा महिलालाई सम्मान र माया प्रेमको भावनाबाट समेटेर राख्ने छौं ।” कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले भन्नुभयो, “ यो विषयमा हामीले आफ्नो घर र नीजि जीवनबाट अभियानका रुपमा शुरु गरौं ।” उहाँसंगै कार्यक्रममा सहभागी भएका सबै क्षेत्रका सरोकारवालाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
“हामीले आफ्नै घरबाट लैंगिक हिंसा नगर्ने प्रतिवद्धता जनाउन अब बेला भएको छ ।” उहाँले भन्नुभयो, “महिलालाई आर्थिक रुपले सक्षम बनाउन पुरुषको भूमिका सकारात्मक हुन आवश्यक छ ।” महिला आर्थिक रुपमा सक्षम भएपछि मात्र लैंगिक हिंसाको अन्त्यगर्न सकिने मन्त्री तिमिल्सिनाको भनाई थियो । अर्को प्रसंगमा उहाँले लैंगिक हिंसा अन्त्यगर्न शिक्षामा परिवर्तन ल्याउन आवश्यक रहेको बताउँदै नेपाल सरकारको भूमिका यस विषयमा सकारात्मक भएको जानकारी गराउनुभयो ।
“हाम्रो सोंचमा परिवर्तन ल्याउनका लागी हामीले हाम्रो शैक्षिक प्रणाली र पद्धति दुवैलाई नै फेरबदल गर्न आवश्यक छ ।” उहाँले भन्नुभयो, “जबसम्म शिक्षामा परिवर्तन ल्याउन सक्दैनौं, तबसम्म हाम्रो सोचमा परिवर्तन ल्याउन सक्दैनौं ।” प्रदेश सरकारले चाँडै महिला ऐन ल्याउन लागेको पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा मन्त्रालयका महिला महाशाखा प्रमुख सम्झना सुवेदीले प्रत्येक घर, समुदायमा लैंगिक हिंसा विरुद्धको अभियानलाई लैजान जरुरी रहेको बताउनुभयो ।
समाज परिवर्तन सँगै लैंगिक हिंसाको स्वरुप पनि परिवर्तन हुँदै गएको महाशाखा प्रमुख सुवेदीले बताउनुभयो । लुम्बिनी प्रदेशमा हुने गरेका कुल अपराधको झण्डै एक तिहाई अपराध लैंगिक हिंसा सम्बन्धी रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित मन्त्री, प्रदेश सांसद, कर्मचारी, सुरक्षा निकाय, शिक्षक, सामाजिक अगुवा, अधिकारकर्मी, विद्यार्थी लगायतले लैंगिक हिंसा नगर्ने भनेर सामुहिक रुपमा प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा बोल्ने बक्ताले लैंगिक हिंसा आफुले नगर्ने र अरुलाई पनि हिंसा गर्न नदिने प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित मन्त्री, प्रदेश सांसद, कर्मचारी, सुरक्षा निकाय, शिक्षक, सामाजिक अगुवा, अधिकारकर्मी, बिद्यार्थी लगायतले लैंगिक हिंसा नगर्ने सामुहिक रुपमा प्रतिवद्धता जनाएका थिए ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद सञ्जुकुमारी चौधरी र सुशिला नेपाली, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, लुम्बिनी प्राविधिक विश्व विद्यालयका उपकुलपति प्रा।डा।बिनोद ढकाल, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई लगायत उपस्थित थिए ।






