बाँके । बाँकेमा १ सय ४६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८० ८१ मा १ सय ४६ जना नयाँ कुष्ठरोगी फेला परेको तथ्यांक आज सार्वजनिक गरेको छ । साइनिङ अस्पताल आइएनएफ प्रमुख मंगल बहादुर थारुका अनुसार नयाँ फेला परेका कुष्ठरागीको निदान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको छ ।
“सामाजिक परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको वैठक” अस्पतालका प्रमुख मंगल बहादुर थारुले नयाँ निदान भएका कुष्ठरोगीमा बाँकेका ८४ जना, बर्दिया २४, भारतका २१ जना, रोल्पा ५, दैलेख ४ र सुर्खेतका १ जना रहेको बताउनुभयो । निदान भएका मध्ये ३९ प्रतिशत विरामीहरुमा कुष्ठरोगको किटाणु पोजिटिभ रहेको थारुले जानकारी दिनुभयो ।
“यो अस्पतालले आफ्नो बहिरंग सेवामार्फत १७ हजार २ सय ६५ जनालाई सेवा प्रदान गरेको छ ।” उहाँले भन्नुभयो,“अस्पतालले कुष्ठरोगीको पहिचान, अपांगता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिबृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवा लगायतका गतिविधि गरिरहेको छ ।”
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले साइनिङ अस्पताल आइएनएफले कुष्ठरोग लगायत विभिन्न छालासँग सम्बन्धित अन्य रोगहरुको निदान गरेर बिरामीलाई थप उपचारका लागि अन्यत्रै रिफर गरिदिनु नै बिरामीको लागि अस्पताल संबेदनशील भएको बताउनुभयो । बिरामीको उपचारमा कुनै प्रकारको खेलाची नगरी बिरामीलाई चाँडै निको बनाउनका लागि अस्पतालले खेलेको भूमिका प्रभावकारी भएको उहाँको भनाई थियो । साइनिङ अस्पतालले कुष्ठरोग सेवालाई बिस्तार गर्दै पश्चिम क्षेत्रकै कुष्ठरोग प्रेषण केन्द्रका रुपमा आफूलाई स्थापित गरिरहेको छ ।






