बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालनमा रहेको माजोङ्ग क्यासिनोमा कार्यरत कर्मचारीहरुले रक्तदान गरेका छन् । उपचारको लागि रगतको अभाव हुन नदिने उद्देश्यले सोल्टी होटल नेपालगञ्जमा सञ्चालनमा रहेको माजोङ्ग क्यासिनोमा कार्यरत कर्मचारीहरुले आज बृहद रक्तदान कार्यक्रमका आयोजना गरी रक्तदान गरेका हुन् ।
नेपालगञ्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्टले सो कार्यक्रमको उद्दघाटन गर्नु भएको थियो । कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख विष्टले छिमेकी जिल्लाहरुबाट उपचारका लागि बाँकेमा आउने बिरामीहरुले रगत अभाव हुन नदिने उद्येश्यले क्यासिनोद्धारा आयोजित रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व प्रकट गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘क्यासिनोले पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई पुरा गर्नका लागि रक्तदान लगाएतका अरु विभिन्न कार्यक्रमहरुको आयोजना गर्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो यो आज सम्पन्न गरिएको रक्तदान कार्यक्रम ।’ महजोङ्ग क्यासिनोले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्य गर्दै आएको बताउँदै बाँकेमा सञ्चालित अन्य क्यासिनोले पनि यस्ता कार्यक्रमलाई सञ्चालन गरेर सामाजिक उत्तरदायित्व पुरा गर्न आवश्यक रहेको बताउनुभयो ।
बाँकेमा रहेका विभिन्न २४ वटा अस्पतालहरुमा उपचारको लागि दैनिक १०० पिन्ट रगतको आवश्यकता पर्ने र त्यसका लागि आफुहरुले सानो प्रयास गरेको माजोङ्ग क्यासिनोका महाप्रबन्धक निरजकुमार प्रधानले बताउनुभयो । सो कार्यक्रममा क्यासिनोका कर्मचारीहरु मध्यबाट २१ महिला ३५ पुरुष गरी ५६ जनाले रक्तदान गरेको महाप्रबन्धक प्रधानले जानकारी दिनुभयो ।
उहाँका अनुसार माजोङ्ग क्यासिनोले नेपालगञ्जमा दोस्रोपटक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रश सोसाईटी रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले विभिन्न अस्पतालहरुमा उपचारको लागि दैनिक आवश्यकता पर्ने रगतको उपलब्धताको लागि विभिन्न दाता समुहबाट नियमित रक्तदान गर्न आग्रह गर्नु भएको थियो ।









