बाँके । पत्रकारहरुको छाता संगठन, नेपाल पत्रकार महासंघ बाँके शाखाले १४ बूँदे घोषणापत्र जारी गरेको छ । शनिवार आयोजित महासंघको १४ औं साधारण सभाले १४ बूँदे नेपालगन्ज घोषणा पत्र जारी गरेको हो । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको साधारण सभाबाट पारित १४ बूँदे घोषणा पत्रमा पत्रकारका हकहीतलाई सम्बोधन गर्दै विभिन्न विषयहरु उठान गरिएको छ ।
महासंघ बाँकेले पारित गरेको १४ बूँदेँ घोषणापत्रमा समेटिएका विषयलाई सम्बोधन गर्न गराउन गम्भीर भएर महासंघ लाग्ने जनाइएको छ । साधरण सभाबाट पारित भएको १४ बूँदे घोषणा पत्रको पहिलो बूँदामा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा र प्रबद्र्धनका लागि सम्पूर्ण आमसञ्चार माध्यम र पत्रकारहरुलाई अझ बढी जिम्मेवार, कर्तब्यनिष्ट, जवाफदेही र संयमतापूर्वक काम गर्न आग्रह गरिएको छ ।
दोश्रो नं. को घोषणा पत्रमा पत्रकार आचार संहिता, पत्रकारिताका स्थापित मूल्य, मान्यता र सिद्धान्त अनुरुप सत्य, तथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रकाशन प्रशारण गर्न आमसञ्चार माध्यम र पत्रकारहरुलाई आग्रह गर्ने जनाइएको छ । यस्तै साना लगानीमा सञ्चलन गरिएका महिला भाषाभाषीका मिडियाको संरक्षण सम्बद्र्धन गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन गर्न जोडदार माग गरेको छ ।
मिडिया मैत्री नीति तथा कानून बनाउन माग गर्दै नेपाल पत्रकार महासंघसंग समन्वय गर्न माग गर्ने बताइएको छ । घोषणापत्रमा ‘स्थानीय, प्रदेश र संघीय सरकारलाई समानुपातिक रुपमा विज्ञापन वितरण गर्न जोडदार माग गर्दछ । स्थानीय विज्ञापन स्थानीय मिडियालाई प्राथमिकता साथ दिने व्यवस्था माग गर्ने’ उल्लेख छ । भने ‘अनलाइन आमसञ्चार माध्यमको दर्ता र नविकरण, पत्रकार परिचयपत्रको वितरण र नविकरण जिल्ला तहबाटै उपलब्ध गराउन सरकारसँग माग गर्ने’ जनाइएकोछ ।
पारित गरिएको उक्त घोषणापत्रमा समाचारमूलक आमसञ्चार माध्यम र सोसल मिडियाबारे सर्वसाधारणमा एकै बुझाई भएकाले फेसबुक, यूटुब लगायतका सामाजिक सञ्जाललाई व्यवस्थित गर्न नीति, विधि, कार्यविधि, निर्देशिका र ऐन, कानून निर्माण माग गर्ने’ तथा सातौं बूँदामा ‘श्रमजीवि पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको छ ।
यस्तै आठौं र नवौं बूँदामा ‘आर्थिक मन्दीका कारण जिल्लामा सञ्चालित आमसञ्चार माध्यमको दीगोपनाका लागि स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बन्न ध्यानाकर्षण गराउने’ तथा ‘नेपाल पत्रकार महासंघको सदस्यता वितरण गर्दा मापदण्ड पुगेका क्रियाशिल पत्रकारलाई सरल र सहज विधिमा सदस्यता उपलब्ध गराउन र पत्रकारिता पेशामा क्रियाशिल नरहेका सदस्यहरुलाई स्वघोषणा वा स–सम्मान सदस्य नरहेको व्यवस्था मिलाउन सम्बद्ध सबैमा आग्रह गर्ने’ जनाइएकोछ ।
‘पत्रकारिता पेशा वा व्यवसायिक क्षेत्रका साझा समस्या तथा सवालहरुमा सरोकारवालाबीच छलफल, अन्तरक्रिया, गोष्ठि, सम्मेलन गरी समाधानका उपाय खोज्नुपर्ने’ घोषणा पत्रमा बताइएको छ । पत्रकारलाई निर्बाध रुपमा समाचार तथा फोटो, भिडियो संकलन गर्ने व्यवस्था मिलाउन र पत्रकारका विरुद्ध हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सम्बद्ध सबैमा जोडदार माग गर्ने कुरा उल्लेख गरिएको छ ।
घोषणापत्रमा अगाडी भनिएको छ ‘महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिलाई पत्रकारिता पेशामा आबद्ध गराउन र पत्रकारिता पेशामा टिकाउने खालका कार्यक्रम सञ्चालन गर्न सम्बद्ध सबैमा हार्दिक आग्रह गर्दछ ।’
यस्तै घोषणापत्र मार्फत ‘बाँकेका पर्यटकीय गन्तब्यहरु बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, बर्फानी बाबा, सन्तानेश्वर मन्दिर, शैयद नुरखलिफा, गुरुद्वारा लगायतका क्षेत्रको विकास निर्माण र नयाँ पर्यटकीय गन्तब्यको पहिचान गर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । महासंघको घोषणापत्र जारीका लागि शंकर प्रशाद खनालको संयोजकत्वमा अर्जुन ओली, मधु पौडेल, विमला चौधरी र आलम खान सदस्य रहनु भएको थियो ।
साधारणसभामा विभिन्न पत्रकारलाई विभिन्न विषयमा सम्मान तथा नगद रासीले पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा लियाकत अलि पत्रकारिता पुरस्कारबाट निरज गौतम र शिव डोटेल, क्रियाशिल पत्रकारिता पुरस्कारबाट विजय मल्ल र बैकुण्ठ अधिकारी, सुर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिताबाट शंकर खनाल र शोभा केसी, चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कारबाट विश्वराज पछलड्ङग्या, रबिन्द्र घिमिरे, माधवी स्वास्थ्य पत्रकारिता पुरस्कारबाट लक्ष्मण ढुङ्गाना (बर्दिया) र अनिता विश्वकर्मा (बाँके),
त्यसैगरी रामकली, रामआधार पत्रकारिता पुरस्कारबाट बिक्रम बुढाक्षेत्री र अभिशेक गुप्ता, बेलमती स्वास्थ्य पत्रकारिता पुरस्कारबाट गजेन्द्र गुरुङ्ग र रुपनी जि एम, आँखा स्वास्थ्य पत्रकारिताबाट खम्ब प्रसाद पुन, कृष्णराज अधिकारी र चन्द्र बोहरा तथा गुरु खत्री पत्रकारिता पुरस्कारबाट तिलक गाउँले रहनु भएको छ । पुरस्कृत सबैलाई नगद रासी प्रदान गरिएको आयोजकले जनाएको छ ।
महासंघले पूर्व अध्यक्ष एवम सल्लाहकारलाई सम्मान गर्ने कार्यलाई समेत निरन्तरता दिएको छ । महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलीसहित पूर्वअध्यक्षहरु हेमन्त कर्माचार्य, निरज गौतम, प्रेम केसी, झलक गैरे, शुक्रऋषि चौलागाई, रुद्र सुवेदी तथा ठाकुरसिंह थारुलाई सम्मान गरेको छ । त्यस्तै, कानूनी सल्लाहकार एवम बरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, सल्लाहकार डक्ट धिताललाई सम्मान गरेको छ ।
पुरस्कार छनोटका लागि रुद्र सुबेदी संयोजकत्वमा डक्ट धिताल र नवीन गिरीको तीन सदस्यीय समिति गठन गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा विभिन्न पेशागत संगठन तथा संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने महासंघको बन्द सत्रमा सचिव कमल डाँगी र कोषाध्यक्ष विनोद पौडेलले प्रस्तुत गरिएको प्रतिवेदन बहुमतले पारित गरिएको बताइएको छ ।






