बाँके । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य शिक्षा जागरणमा महिला स्वमंसेवकहरुले पु¥याएको योगदान अतुलनीय रहेको बताउनु भएको छ । स्वास्थ्य कार्यालय बाँकेले आज नेपालगन्जमा ६० वर्ष पूरा भई सेवाबाट बिदाई हुने महिला स्वास्थ्य स्वमंसेवकलाई सम्मान बिदाई गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले महिला स्वमंसेवकहरुले पु¥याएको योगदान अतुलनीय रहेको बताउनु भएको हो ।
‘न्यून सेवामा पनि स्वास्थ्य शिक्षा जागरणमा महिला स्वमंसेवकहरुले पु¥याएको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको छ ।’ उहाँले भन्नुभयो,‘मातृमृत्युदर तथा शिशु मृत्युदरमा कमी ल्याउन महिला स्वमंसेवकहरुले सहयोगी भूमिका निर्वाह गरेको उल्लेख्य देखिन्छ ।’ महिला स्वमंसेवकहरुको सेवा सुबिधा थप्ने विषयमा प्रदेश सरकार सकारात्मक भएपनि बजेट अभावका कारण गर्न नसकिएको स्वास्थ्य मन्त्री खनालले बताउनुभयो । सेवा निवृत्त हुने स्वमंसेवकहरुलाई भने प्रदेश सरकारले जनही ५० हजार दिने अभियान सुरुवात बाँकेबाटै गरिएकोे उहाँले बताउनुभयो ।
‘सेवा निवृत्त महिला स्वमंसेवकको सम्मान स्वरुप प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि ५० हजार दिन सुरु गरेको छ ।’ उहाँले भन्नुयो,‘अब यसलाई निरन्तरता दिनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ ।’ प्रदेशमा करिब नौ हजार महिला स्वमंसेवक छन् । ती मध्ये एक वर्षमा करिब चार सय सेवा निवृत्त हुने गरेको तथ्यांकमा उल्लेख छ ।
संघीय सरकारले सेवा निवृत्त हुने महिला स्वास्थ्य स्वमंसेवकलाई २० हजार दिंदै आएको छ । लुम्बिनी प्रदेशमा सेवा निवृत्त हुने स्वमंसेवकले ७० हजार पाउने गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले भने आफ्नो नगर क्षेत्रका स्वमंसेवकलाई थप ५० हजार दिने गरेको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । नगर क्षेत्रका सेवा निवृत्त महिला स्वास्थ्य स्वमंसेवकले १ लाख २० हजार पाउने गरेका छन् ।
बाँकेमा चालू आर्थिक वर्षमा ३४ जना महिला स्वास्थ्य स्वमंसेवक सेवा निवृत्त हुँदैछन् । नेपालगन्ज उपमहानगरपालिकामा १०, जानकीमा ४, कोहलपुरमा १, राप्तीसोनारीमा ५, बैजनाथमा २, डुडुवामा ५, खजुरामा ६ र नरैनापुरमा १ जना गरी ३४ जना सेवा निवृत्त हुँदैछन् । आज नेपालगन्ज र जानकीका महिला स्वास्थ्य स्वमंसेवाको स(सम्मान बिदाई गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टको सभापतित्वमा भएको सम्मान तथा बिदाई कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यहरु सुशीला नेपाली, मीना सिद्दिकी, प्रदेश स्वास्थ्य सचिव डा।जनार्दन पन्थी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाही, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायतले बोल्नु भएको थियो ।








