बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले घरघरमा पुगेर पशुलाई ‘भ्याक्सिन’ लगाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको पशु शाखाले नगरका सबै वडामा घर घरमै पुगेर भ्याक्सिन लगाउने अभियान थालेको हो । आज वडा नम्बर १८ का घर(घरमा पुगेर पशुलाई भ्याक्सिन लगाइएको छ ।
उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक एवं वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले वडा नम्बर १८ को अभियानको उद्घाटन गर्नु भएको थियो । पशु शाखा प्रमुख लक्ष्मी चन्दका अनुसार पीपीआर, खोरेत, भ्यागुते र स्वाइनफिवर विरुद्धका भ्याक्सिन लगाइएको छ ।
पीपीआर २५ हजार, खोरेत २० हजार, भ्यागुते १५ हजार र स्वाइनफिवरको एक हजार डोज लगाउने लक्ष्य रहेको छ । उपमहानगरपालिकाले घर(घरमा गएर भ्याक्सिन लगाउनका लागि तीन जना भ्याक्सिनेटर र तीन जना सहयोगी नियुक्त गरेको छ ।
पशु शाखा प्रमुख चन्दले वडा नम्बर १३, १४, १७, १९,२०, २१, २२ र २३ मा भ्याक्सिन लगाउने काम सकिएको जानकारी दिनुभयो । पशुमा कुनै पनि बेला पीपीआर, खोरेत, भ्यागुते र स्वाइनफिवर फैलिन सक्ने भएकाले उपमहानगरपालिकाले यी रोगविरुद्ध भ्याक्सिन लगाएको हो ।






